ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयमा दुई दिने रक्तदान शिविर

शाख न्यूज    प्रकाशित: २०८२-५-७ गते   २३५ पटक हेरिएको

नेपालगन्ज -  ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय नेपालगन्जमा दुई दिने रक्तदान शिविरको आयोजना गरिएको हो । विश्व बन्धुत्व दिवस एवम् राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्यस्मृतिमा शनिवार र आइतबार आयोजित रक्तदान शिविरको उद्घाटन शनिवार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले गरे । 

क्षेत्रीय प्रमुख बह्माकुमारी दुर्गाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मन्त्री अग्रवालले मानव जीवनको सबैभन्दा ठूलो दान रगत दान भएको भन्दै यस्तो पुण्य कार्यको आयोजना गर्ने ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा रक्तदान गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे । उनले आध्यात्मिक चिन्तनको विकास र मानवता प्रबद्र्धन अभियानमा ॐ शान्तिले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । मन्त्री अग्रवालले प्रदेश सरकारबाट आवश्यक सहयोगका लागि पनि प्रतिबद्ध रहेको उल्लेख गरे।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, लायन्स क्लब अफ नेपालगञ्जका अध्यक्ष यज्ञ बहादुर बस्नेत, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल स्वंयसेवी रक्तदाता समाजकी बाँके अध्यक्ष दिला शाह, नेपालगन्ज  उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय नेपालगन्ज प्रमुख ब्रह्माकुमारी दुर्गाले एसियाली सम्पूर्ण राष्ट्रहरूमा विशाल रक्तदान महादान शिविर सञ्चालन भइरहेको बताइन् । कार्यक्रम सञ्चालन ब्रह्माकुमारी मुनाले गरेकी थिइन् ।

ब्रह्मकुमार कृष्णका अनुसार विहिबार मात्रै नेपालका विभिन्न ॐ शान्ति केन्द्रमा भएको रक्तदान कार्यक्रममा ५ हजार पिन्ट रगत संकलन भएको छ । नेपालको इतिहासमै पहिलो पटक एकै दिन ५०४७ पिन्ट रगत संकलन भएको हो । नेपालमै एक दिनमा भएको यो संकलन हालसम्मकै बढी रहेको बताइएको छ । नेपालगन्ज क्षेत्र अन्तर्गत रहेको ॐ शान्ति कार्यालयहरुमा हालसम्म २५६ पिन्ट रगत संकलन भएको छ । नेपालगन्जमा मात्रै शनिवार ५५ पिन्ट रगत संकलन भएको ब्रह्मकुमार कृष्णले बताए । रक्तसञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोग तथा विभिन्न संघसंस्थाको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech