बाँके - युवालाई कला, संस्कृति र सिर्जनात्मक गतिविधिप्रति प्रोत्साहित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय इस्लामिक कला एवं संस्कृति दिवस मनाइएको छ ।
इस्लामिक कला, संस्कृति, सभ्यता तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्नुका साथै युवामा सकारात्मक सोच, सिर्जनशिलता र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आइतबार नेपालगन्जस्थित आइडियल पब्लिक माध्यमिक विद्यालयमा सो दिवस मनाइएको हो ।
आइडियल पब्लिक माध्यमिक विद्यालयको आयोजना तथा द मदर फाउन्डेसनको सहकार्यमा गरिएको कार्यक्रमको उद्घाटन पवित्र धार्मिक ग्रन्थ कुरान शरीफको वाचन तथा राष्ट्रिय गानबाट गरिएको थियो । सो दिवसको अवसरमा द मदर फाउण्डेसनका संस्थापक सलाहुद्दीन अख्तर सिद्दिकीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि द मदर फाउण्डेसनका संस्थापक सलाहुद्दीन अख्तर सिद्दिकीले इस्लामको ऐतिहासिक विरासत र समकालीन कलात्मक अभिव्यक्तिमार्फत कला, संस्कृति तथा सभ्यताप्रति जागरूकता अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य रहेको बताएका छन् ।
कार्यक्रममा आइडियल पब्लिक माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत अफिफा रंग्रेजसहित करिब आधा दर्जन छात्राहरूले अन्तर्राष्ट्रिय इस्लामिक कला एवं संस्कृति दिवसको महत्त्व, उद्देश्य तथा सांस्कृतिक पक्षबारे आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमले इस्लामिक कला, संस्कृति र सभ्यताको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामाझ यसको महत्त्वबारे चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
ई. सं २०१९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) सम्मेलनको ४० औँ सत्रमा इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा भएपछि विश्वभरी हरेक वर्ष नोभेम्बर १८ मा यो दिवस मनाउने गरिन्छ । विद्यालयका अध्यक्ष बद्रे आलम खानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक विरेन्द्र सिंह श्रीवास्तवले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालय प्रशासक मोहम्मद इलियास अन्सारीले सन्चालन गरेको कार्यक्रममा इस्लामिक संघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष एवं समाजसेवी ओबैदुर्रहमान खान, सचिव मोहम्मद असलम हल्वाई, कोषाध्यक्ष मोहम्मद आलमीन राई, माध्यमिक विद्यालय शाहपूर्वाका प्रधानाध्यापक सफीक खाँ, आइशा मदरसातुल बनात बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कस्फुद्दुजा खान, सायर मुस्तफा एहसान कुरैशी, शिक्षक, विद्यार्थी तथा पत्रकार लगायतको उपस्थिति थियो।
