नेपाल प्रहरीको महानिरीक्षकमा कार्की नियुक्त

शाख न्यूज    प्रकाशित: २०८२-७-२४ गते   ४५१ पटक हेरिएको

नेपालगन्ज २४ कार्तिक - नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।

२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।

डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।

चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् ।

कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रिय प्रवक्ता समेत भएका थिए ।

२०८० मा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हुँदा कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए । एआईजीको मेरिट लिस्टमा ३ नम्बरमा रहेका डा. केसीले सुरु गरेको शरणार्थी प्रकरणको अनुसन्धानलाई कार्कीले साथ दिए । मुद्दाको अनुसन्धान प्रतिवेदन तयार गर्ने र अभियोजनमा सरकारी वकिल कार्यालयसँग कार्कीको टोलीले समन्वय गरेर काम गरेको थियो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पटाउँछौँ भनेर ठग्ने गिरोहसँग कनेक्सन देखिएपछि २०८० वैशाख २७ मा पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परे ।

चर्चित शरणार्थी प्रकरणमा संलग्न आरोपमा पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुत्र प्रतीक थापा र गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे र बिचौलिया बेचन झा पुर्पक्षको लागी थुनामा छन् । शरणार्थी प्रकरणमा संलग्न केशव प्रसाद दुलाल र सानु भण्डारी पनि अहिले कारागारमा छन् । सो अनुसन्धान र अभियोजनले नेपालको राजनीतिमा तरङ्ग ल्याएको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech