अध्यक्ष धामीको उपचारका लागि जापान शाखाद्वारा ‘सक्दो सहयोग’ अभियान संचालन

शाख न्यूज    प्रकाशित: २०८२-७-२९ गते   ४९७ पटक हेरिएको

कंचनपुर २९ कार्तिक - जटिल प्राणघातक क्यान्सर देखिएर उपचाररत नेपाल पत्रकार महासंघ कंचनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीको उपचार सहयोगार्थ महासंघ जापान शाखाले सुरु गरेको आर्थिक सहयोग संकलन अभियान तीव्र गतिमा अघि बढेको छ । 

भारतको नयाँ दिल्लीस्थित रोहिणीको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत अध्यक्ष धामीको उपचार खर्च अत्यधिक रहेकाले जापान शाखाले ‘सक्दो सहयोग’ अभियान संचालन गरेको हुँदा जापानमा रहेका पत्रकार तथा अन्य शुभेच्छुकहरुमार्फत  आर्थिक संकलन भइरहेको शाखाका सदस्य भवानी भट्टले जानकारी दिएका छन् ।

जापान शाखाका अध्यक्ष शान्त पहरीका अनुसार नोभेम्बर १९ (मंसिर ३) सम्म अभियान संचालन गरिँदैछ । "सबैलाई सक्दो सहयोग गरिदिन आग्रह गरेका छौँ,” पहरीले भने, “संकलित रकम नोभेम्बर २० मा नेपाल पठाइने छ ।” उनका अनुसार अभियान सुरु भएकाे दिनदेखि नै सहयोग आउने क्रम निरन्तर जारी छ ।

नेपाल पत्रकार महासंघ कंचनपुरका पूर्व अध्यक्ष लक्ष्मण तिवारीले जापान शाखाले चलाएको अभियान अत्यन्तै सराहनीय र प्रशंसनीय रहेको टिप्पणी गर्दै यस्तै कठिन समयमा देखाइने सहयोगको भावना नै मानवता हो त्यसैले महासंघका देशविदेशमा रहेका अन्य शाखा तथा सम्पूर्ण व्यक्तित्वलाई पनि सहयोगका लागि तिवारीले आग्रह गरेका छन् ।

यसअघि काठमाडौँस्थित मेडिकल कलेजमा धामीको पाचन प्रणालीसम्बन्धी ट्यूमरको पहिलो चरणको अपरेसन गरिएको थियो । दोस्रो चरणको उपचारका लागि उहाँलाई दिल्ली लगिएको हो । लामो समयसम्म उपचार आवश्यक पर्ने देखिइएपछि परिवारको सामर्थ्य मात्रले खर्च धान्न नसकिने भएकाले महासंघ कंचनपुर शाखाले पनि नेपालभित्र सहयोग अभियान संचालन गरिरहेको छ ।

कंचनपुर शाखाले अध्यक्ष धामीको उपचारका लागि ‘सक्दो सहयोग गरिदिनु’ भन्दै सबैमा अपिल गरेको छ । उपचारमा जुटेको सामूहिक प्रयासले धामीको जीवन रक्षा तथा परिवारको भविष्य सुरक्षित हुने शाखाका सचिव कुन्दन राज पाण्डेयले विश्वास व्यक्त गरेका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech