शारदा नगरपालिकाद्वारा पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८२-८-१ गते   ६१९ पटक हेरिएको

सल्यान - पाँच बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै शारदा नगरपालिका सल्यानले आर्थिक बर्ष २०८२-०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । 

बास नेपालको सहजीकरणमा सोमबार सम्पन्न सुनुवाईमा सरोकारवाला र सहभागी नगरबासीहरुको बीचमा भएको दोहोरो सम्बाद पश्चात उक्त साझा प्रतिबद्धता घोषणा गरिएको हो ।  

सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा त्रिभुवन जनता माबिमा गणित बिषयको शिक्षक नभएका कारण पठनपाठनमा समस्या भइरहेकाले यथाशक्य शिक्षक दरबन्दी पदपूर्ति गर्ने, साहु टोलदेखि बरला जाने बाटो निर्माणबारे जनगुनासो आएकाले उक्त बाटो चालू आर्थिक बर्षमा कालोपत्रे गर्ने, नगरपालिकाको पटनेरीमा स्वर्गीय शुरदास गन्धर्वको सम्झनामा शुरदास प्रतिक्षालय निर्माण गर्ने, नगरभित्रका वाटोहरुको प्राथमिकता अनुसार स्तरोन्नति गर्ने र नगरपालिकाभित्र फोहोर ब्यवस्थापनका लागि आम नागरिक र सबै सरोकारवालाहरु सजग रहने प्रतिबद्धता गरिएको हो । 

सुनुवाईको शुरुवातमा शारदा नगरपालिकाले पहिलो चौमासिकमा गरेका क्रियाकलाप तथा महत्वपूर्ण उपलब्धिको बारेमा शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिएका छन् । सुनुवाईमा उठेका प्रश्न तथा जिज्ञासाको समाधान नगर प्रमुख तथा सुनुवाईका प्रमुख जवाफदेही बक्ता प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, वडा अध्यक्ष र शाखा प्रमुखहरुले दिएका थिए ।

बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको सुनुवाईमा नागरिक प्रतिबेदन पत्र र बहिर्गमन अभिमत पत्रको नतिजा घोषणा बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए । शारदा नगरपालिकाले पालिकाको नियमित सार्वजनिक सुनुवाई गर्दै आएको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech