भेरी अस्पतालको क्याथ ल्याब: पश्चिम नेपालका मुटुरोगीको भरोसा

शाख न्यूज    प्रकाशित: २०८२-८-५ गते   २३४ पटक हेरिएको

समिरमान श्रेष्ठ
नेपालगन्ज - पश्चिम नेपालमा मुटुरोगको सुरक्षित, छरितो र प्रभावकारी उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा सञ्चालनमा रहेको क्याथ ल्याब सेवा पछिल्ला वर्षयता अत्यन्तै महत्वपूर्ण बनेको छ । कोरोनरी एन्जियोग्राफी, एन्जियोप्लास्टि, पेसमेकर जडानदेखि पेरिकार्डियोसिन्टेसिससम्मका जटिल प्रक्रिया यही क्याथ ल्याबमार्फत सफलतापूर्वक भइरहेका छन् ।

अस्पतालका मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डा. विकास नेपालका अनुसार भेरी अस्पताल नेपालगन्जमा सञ्चालनमा रहेको क्याथ ल्याब सेवाका कारण पश्चिम नेपालका मुटुरोगी बिरामीलाई काठमाडौं वा भारत धाउनुपर्ने अवस्था उल्लेख्य रूपमा घटेको छ । लामो समयदेखि भेरी अस्पतालमा मात्र क्याथ ल्याब सेवा उपलब्ध भए पनि अहिले सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा पनि यो सेवा सुरु भइसकेकाले बिरामीलाई उपचारमा सहज बनेको छ । बुटवल पश्चिममा अहिले भेरी अस्पतालसँगै नेपालगन्ज स्थित सञ्जिवनीले सेवा दिईरहेका छन् भने कैलाली स्थित अतरीया अस्पतालले पनि मुटुरोगीहरुको सहज उपचारका लागि यो सेवा सुरु गरेको छ ।

पाँच महिनामै ३४० जनाले लिए भेरीको क्याथ ल्याब बाट सेवा

चालु आर्थिक वर्षको श्रावणदेखि मंसिर ६ गते शनिबार बिहानसम्म ३४० मुटुरोगीले क्याथ ल्याब सेवा लिएका छन् । उनीहरूमध्ये २१५ जनाले कोरोनरी एन्जियोग्राफी, १०० जनाले स्टेन्ट राखेर गरिने एन्जियोप्लास्टि (PCI), १ जनाले बलुन एन्जियोप्लास्टि (POBA), ९ जनाले अस्थायी पेसमेकर, ८ जनाले स्थायी पेसमेकर, ५ जनाले पेरिकार्डियल फ्लुइड निकाल्ने जीवनरक्षक सेवा, १ जनाले रेनल एन्जियोग्राफी सेवा लिएका छन् । डा.नेपालका अनुसार मुटुको धमनी अवरुद्ध हुँदा हुने जटिल अवस्थाको तत्काल उपचार यही क्याथ ल्याबमै सम्भव भएकाले धेरै बिरामीको ज्यान बचाउन सफल भएको छ ।

पश्चिम नेपालका मुटुरोगीको प्रमुख आशा

भेरी अस्पतालमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, दार्चुला लगायतका जिल्लाबाट मुटुरोगी भेरी अस्पतालमा आउने क्रम बढ्दो छ । सस्तो र गुणस्तरीय सेवा, अनुभवी विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी र उपलब्ध स्रोत साधनका कारण भेरी अस्पताल पश्चिम नेपालका मुटुरोगीको प्रमुख आश्रयस्थल बनेको जानकारहरू बताउँछन् ।

अत्याधुनिक उपकरण अभाव सेवा विस्तारमा मुख्य चुनौती

हाल उपलब्ध सेवा प्रभावकारी भए पनि अझ अन्तर्राष्ट्रिय स्तरको स्ट्यान्डर्ड कायम गर्न अत्याधुनिक उपकरण अनिवार्य रहेको डा. नेपाल बताउँछन् । उनका अनुसार OCT (Optical Coherence Tomography) मशीन, IVUS (Intravascular Ultrasound) मशीन, TMT (Treadmill Test) मशीन जस्ता अत्यावश्यक उपकरणको अभावले क्याथ ल्याबले अझ उच्च गुणस्तरको सेवा दिन नसकेको हो । “यी उपकरण उपलब्ध भए विदेशमा जस्तै अत्याधुनिक मुटुरोग उपचार यही अस्पतालमै दिन सकिन्छ,” डा. नेपालको भनाइ छ ।

सरकार र सरोकारवालाको ध्यान आवश्यक

डा. नेपाल भन्छन्— “उपकरण र प्रविधिमा लगानी नगरेसम्म पश्चिम नेपालको मुटुरोग सेवा स्तर उकास्न सकिँदैन । स्थानीय, प्रदेश र संघीय सरकारसँगै सरोकारवाला सबै यसतर्फ गम्भीर हुनुपर्छ ।” उनका अनुसार बिरामीको संख्या तीव्र रूपमा बढ्दै गएकोले क्याथ ल्याबलाई अपडेट, विस्तार र स्तरोन्नति गर्नु अब अनिवार्य भइसकेको छ ।

हाल क्याथ ल्याबमा २ जना मुटुरोग विशेषज्ञ, १ जना फिजिसियन, १ जना मेडिकल अफिसर, रेडियोग्राफर र ४ जना दक्ष नर्सिङ टोली मार्फत सेवा प्रदान भइरहेको छ । अत्याधुनिक उपकरणहरुसँगै अझै विशेषज्ञ जनशक्ति थपिने हो भने पश्चिम नेपालमै मुटुरोग उपचारलाई नयाँ उचाइमा पुर्‍याउन सकिने डा.नेपाल बताउँछन् ।

रोग लागेपछि होइन, रोकथाममै ध्यान दिन विशेषज्ञको सुझाव

मुटुरोगको उपचार अझै पनि महँगो र धेरैका लागि कठिन भएकाले “रोग लागेपछि होइन, रोकथाममै ध्यान दिनुपर्ने” आवश्यकता डा.नेपाल औँल्याउँछन् । उनका अनुसार जीवनशैलीमा सुधार, नियमित व्यायाम, धूम्रपान त्याग, र नियमित स्वास्थ्य परीक्षणमार्फत धेरैजसो मुटुरोग सुरुवातमै रोक्न सकिन्छ । जनचेतनाको अभावले धेरै बिरामी अस्पताल पुग्दा ढिलो हुने गरेको उनले बताउँछन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech