शिक्षा क्षेत्रमा भइरहेको अनियमितता, भ्रष्टाचारमा शैक्षिक माफियाको संगठित गिरोह सक्रिय

शैक्षिक माफिया संयोजक शिक्षा शाखा प्रमुखको बर्खास्ती माग

शाख न्यूज    प्रकाशित: २०८२-८-१७ गते   ३७२ पटक हेरिएको

नितेशसिंह मौर्य

बाँके - नरैनापुर गाउँपालिकामा शिक्षा क्षेत्रमा व्यापक अनियमितता, भ्रष्टाचार र लापरवाही भएको भन्दै विद्यार्थी  , स्थानीयवासी तथा सरोकारवाला समूह नै आन्दोलित भएका छन् । नरैनापुर गाउँपालिकामा शैक्षिक माफियाको संगठित गिरोह सक्रिय रहेको आरोप लगाउँदै त्यसको संयोजकका रूपमा शिक्षा शाखा प्रमुख कृष्णकुमार थारु रहेको दाबी गरेका छन्। उनीमाथि गम्भीर भ्रष्टाचारका आरोप रहेकाले तत्काल बर्खास्ती गरी निष्पक्ष छानबिन गर्नुपर्ने स्थानीयबासीहरुको  माग छ। 

स्थानीय तथा पत्रकार विनय दीक्षितले विद्यालयमा अझैसम्म स्थानीय पाठ्यक्रम लागू हुन नसकेको भन्दै त्यसका लागि विनियोजन गरिएको बजेट कहाँ खर्च भयो भन्नेबारे कसैलाई जानकारी नभएको प्रश्न उठाए। उनका अनुसार शिक्षा शाखाले बजेट छुट्याए पनि त्यसको पारदर्शिता छैन। शिक्षा शाखाको संरक्षित भ्रष्टाचारले  विद्यार्थीको दिवा खाजामा ठुलो भ्रष्टाचार भएको र  लाखौं रुपैयाँ दिवा खाजाका नाममा खर्च देखाइए पनि विद्यालयमा विद्यार्थीले चिउरा, नमकिन र पानी मात्रै खान बाध्य भएको देखिएको दिक्षितको भनाइ छ। यस विषयमा तत्काल अनुसन्धान हुनुपर्ने माग गरिएको उनले बताए।

विद्यालयमा भौतिक संरचना अभाव, डेस्क–बेन्चको कमी, तथा खानेपानी अभावसमेत रहेको आन्दोलनकारीको आरोप छ। खानेपानीका लागि लाखौं खर्चेर जडान गरिएका वाटर प्युरीफायर मेसिन आजसम्म सञ्चालनमा नआएको जनाइएको छ।

त्यस्तै, विद्यालयका लागि खरिद गरिएका विद्युतीय उपकरण विद्यालयमा नराखी प्रधानाध्यापकहरूको घरमा जडान गरिएको देखिएको भन्दै यसले गर्मीको समयमा विद्यार्थीहरूलाई चरम सास्ती भोग्न बाध्य बनाएको उनीहरूले बताएका छन्।

विद्यालयमा विद्यार्थीका लागि कुनै पनि आधारभूत सुविधा उपलब्ध नभएको र त्यसको पूर्ण जिम्मेवारी शिक्षा शाखा प्रमुखले लिनुपर्ने आन्दोलनकारीको माग छ। शिक्षा क्षेत्रमा यति धेरै भ्रष्टाचार हुँदा पनि गाउँपालिका अध्यक्ष स्तियाक अहमद शाहले कुनै कदम नचालेको आरोपसमेत लगाइएको छ।

स्थानीयवासीका अनुसार विद्यालयसँग सम्बन्धित धेरै भ्रष्टाचारका उजुरी शिक्षा शाखामा जानकारी गराउँदा पनि कुनै कारबाही नभएकाले सबै पक्ष मिलेमतोमा रहेको स्पष्ट देखिएको छ। आन्दोलनकारीहरूले एसईई परीक्षामा नतिजा शून्यजस्तै हुनु, अनुगमनको अभाव, विषयगत शिक्षकको कमी, तथा शिक्षक नियुक्तिमा लेनदेन हुने जस्ता कारणले शिक्षा क्षेत्र अन्धकारतर्फ गएको बताए।

शिक्षा शाखा मौन रहँदा नरैनापुर गाउँपालिकाको शिक्षा क्षेत्रमा गहिरो र संगठित भ्रष्टाचार भइरहेको स्पष्ट देखिने स्थानीयको आक्रोशपूर्ण निष्कर्ष छ। आन्दोलनकारीहरूका अनुसार शिक्षा शाखा प्रमुख पदबाट हटेपछि मात्रै दोस्रो चरणको वार्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग गरिने छ। बुधबार नरैनापुरमा एक दिने चक्काजामसहित धर्ना कार्यक्रम गरिएको थियो भने मंसिर १९ गते  नरैनापुर बन्दको घोषणा गरिएको दिक्षितले जानकारी दिएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech