भेरी अस्पतालमा निःशुल्क नबजात शिशुको सिकलसेल परीक्षण सुरु

शाख न्यूज    प्रकाशित: २०८२-९-२ गते   ५०५ पटक हेरिएको

बाँके - भेरी अस्पतालमा नबजात शिशुको निःशुल्क सिकलसेल परिक्षण सुरु भएको छ । सरकारले सिकलसेल एनिमियाका बिरामीलाई उपचारमा सहयोगस्वरुप वर्षमै २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ । यसअघि बाँचुञ्जेल एक लाख मात्रै उपचार खर्च दिँदै आएको थियो ।

अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ सह प्रा.डा राजन पाण्डेका अनुसार भेरी अस्पतालमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक मेशिन (Bio–Rad VARIANT™ nbs System) प्रयोग गरी नवजात शिशुमा सिकलसेल रोगको निःशुल्क परीक्षण सेवा सुरु गरिएको हो ।

सह–प्रा.डा.पाण्डे सिकलसेल एनिमिया रोगको परीक्षण र उपचारमा असाधारण उपलब्धि मिलेको बताउँछन् । २०७३ साल साउनसम्म नेपालमा सिकलसेल एनिमिया रोग भएको वा नभएको पत्ता लगाउन रगत परीक्षण गर्ने सुविधा थिएन । त्यसका लागि रगतको नमूना भारत पठाउनुपर्ने बाध्यता थियो ।

उनले भने-‘नयाँ मेसिन जडान भएसँगै जन्मेको २४ घण्टापछि र पाँच दिनभित्र निःशुल्क जाँच गरिए सिकलसेल एनिमिया भएनभएको पुष्टि गर्न सकिन्छ ।’  साथै शिशु नौ महिना पूरा भई दादुरा–रुबेला खोपको पहिलो डोज लगाउने समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटा थालेसिमिया तथा अन्य हेमोग्लोबिनोप्याथी भए–नभएको थप पुष्टि सकिने समेत उनले बताए ।

Prenatal diagnosis र Bone Marrow Transplantation बाहेक, हेमोग्लोबिनोप्याथीको समग्र (Comprehensive) उपचार तथा हेरचाहसम्बन्धी अधिकांश सेवाहरु भेरी अस्पतालमै सहज रुपमा प्राप्त हुने पनि उनले बताएका छन् । उनले भने–‘यो सेवाबाट सिकलसेल तथा अन्य रक्तसम्बन्धी वंशानुगत रोगको समयमै पहिचान, उपचार र दीर्घकालीन व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्नेछ ।’

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech