गढवामा थप दुई ठाउँमा दूध संकलन केन्द्र स्थापना हुँदै

शाख न्यूज    प्रकाशित: २०८२-१०-१४ गते   १४८ पटक हेरिएको

आलोक भावुक
दाङ १४ माघ - गढवा गाउँपालिकामा थप दुई स्थानमा दूध संकलन केन्द्र स्थापना गर्ने विषयमा छलफल सम्पन्न भएको छ। गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना अन्तर्गत गठन भएको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड ले गढवाको दुई स्थानमा सहायक दूध संकलन केन्द्र स्थापना गर्ने तयारी गरेको हो।

हाल गढवा गाउँपालिका वडा नम्बर ६ गढवा बजारमा दूध संकलन तथा विक्री केन्द्र सञ्चालन हुँदै आएको छ, जसले दूध उत्पादन किसानलाई दूध विक्रीमा सहजता पुऱ्याउँदै आएको छ। यसले विशेषगरी भैंसीपालक किसानहरूलाई भैंसी पालन व्यवसायलाई व्यवसायिक रूपमा अघि बढाउन मद्दत पुगेको छ । गढवा गाउँपालिका वडा नम्बर २ पचहिया र वडा नम्बर ४ अजगढवा (रामनगर) मा दूध संकलन केन्द्र स्थापना गरिनेछ।

छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखेलले भने, "गढवा गाउँपालिकामा पशुपालन र दुग्ध उत्पादनलाई आयआर्जनको प्रमुख माध्यमका रूपमा विकास गर्ने हाम्रो लक्ष्य भएकाले दूध संकलन केन्द्र किसानको घर नजिकै स्थापना हुँदा किसानको समय, खर्च र मेहनत जोगिन्छ"।

अहिले गढवा बजारमा मात्र दूध संकलन केन्द्र सञ्चालन हुँदा वडा नम्बर १, २, ३, ४ र ५ का किसानलाई दूध विक्री गर्न टाढा जानु पर्ने बाध्यता रहेको छ। नयाँ केन्द्र स्थापना भएपछि ती वडाका भैंसीपालक किसानहरूलाई दूध बिक्री गर्न सहज हुने अपेक्षा गरिएको छ भने वडा नम्बर ५, ६ र ७ का किसानहरू गढवा-६ को मुख्य केन्द्रवाट लाभान्वित हुँदै आएका छन्।

गढवा गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको सहकार्यमा सञ्चालित भिटा परियोजनाले कृषि, पशुपालन, महिला सशक्तिकरण, व्यवसायिक उत्पादन र उद्यमशीलता विकासमा आधारित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस अन्तर्गत किसानलाई तालिम, कृषि तथा पशु सामग्री हस्तान्तरण, प्राविधिक सेवा, उन्नत जातका राँगा तथा बोका वितरण, खोर सुधार लगायतका कार्यहरू हुँदै आएका छन्।

गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष शोभा रावत क्षेत्रीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखेलको प्रमुख आतिथ्य र वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीको विशेष उपस्थितिमा दुई स्थानमा सहायक दूध संकलन केन्द्र स्थापना सम्वन्धी छलफल भएको सहकारीका व्यवस्थापक रम्भुनाथ चौधरीले दिएका छन् । कार्यक्रममा सामुदायिक सहजकर्ता कैलाश चौधरी, माया चौधरी, समाजका अगुवा, भैंसीपालक किसानलगायतको सहभागिता रहेको थियो।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech