विज्ञापन बोर्डद्वारा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई आग्रह

शाख न्यूज    प्रकाशित: २०८२-१०-२२ गते   ६२० पटक हेरिएको

काठमाडौँ - आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न र नगराउन उम्मेदवारहरूलाई विज्ञापन बोर्डले आग्रह गरेको छ ।

बोर्डले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाललगायतमा कुनै दल तथा दलका उम्मेदवार वा नेता तथा कार्यकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा होच्याउने, भ्रम सृजना गर्ने जस्ता कार्य भइरहेको गुनासो बोर्डमा प्राप्त भइरहेको जनाएको छ ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७, निर्वाचन आचारसंहिता, २०८२, विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता,- २०७९ विपरीत कुनै पनि गतिविधि भए/गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने ब्यहोरा समेत बोर्डले जनाएको छ ।

निर्वाचन आयोग र विज्ञापन बोर्डबीच निर्वाचनको समयमा हुने विज्ञापनको अनुगमन, नियमन, छानबिन र कारबाही गर्ने सहमति भई बोर्डले विज्ञापनको अनुगमन तथा नियमन गरिरहेको पनि जानकारी दिएको छ ।

“विज्ञापन क्षेत्रको नियामक निकाय विज्ञापन बोर्डले मतदातामा भ्रम सृजना गर्ने, होच्याउने तथा भ्रामक श्रव्य तथा श्रव्य दृश्य सामग्री प्रयोग गरी मतदातालाई झुक्याउने जस्ता कार्यको सूक्ष्म अध्ययन गरिरहेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech