इमान्दारिता, समर्पण र एकताका साथ चुनावी अभियानमा जुट्न आह्वान - उम्मेदवार अमरसिंह पुन

शाख न्यूज    प्रकाशित: २०८२-१०-२७ गते   १२८ पटक हेरिएको

नेपालगञ्ज २७ माघ  आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीका सन्दर्भमा निर्वाचन परिचालन तथा प्रचार–प्रसार मूल समिति बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै देशको व्यवस्था नै रहने–नरहने अन्यौलता सिर्जना भएको टिप्पणी गर्दै यस्तो संकटपूर्ण अवस्थामा काँग्रेसलाई जिताएमात्रै उपलब्धिहरुको संस्थागत गर्न सकिने बाँके क्षेत्र न -३ उम्मेदवार  अमरसिंह पुनले उल्लेख गरेका छन्  ।

बाँके क्षेत्र नं.-३ का उम्मेदवारसमेत रहेका पुनले वर्तमान राजनीतिक परिस्थिति संवेदनशील मोडमा पुगेको भन्दै लोकतान्त्रिक उपलब्धिहरुको संरक्षण अहिलेको मुख्य चुनौती रहेको धारणा राखेका छन् । सिंगो देश अहिले संकटमा छ, व्यवस्था नै रहने–नरहने अन्यौलता छ, यस्तो अवस्थामा प्राप्त उपलब्धिहरु जोगाउन काँग्रेसको विकल्प नभएको उनले बताए ।

पुनले पछिल्लो समय उठिरहेका सामाजिक तथा राजनीतिक आन्दोलनप्रति संकेत गर्दै ‘जेनजी आन्दोलन’ले उठाएका मागहरु काँग्रेसकै पहलमा सम्बोधन हुँदै आएको दाबी गरेका छन् । काँग्रेस समयअनुसार परिवर्तन हुँदै देश रूपान्तरणको अभियानमा सक्रिय रहेको उनको भनाइ थियो। उनले पार्टीलाई परिवर्तनको संवाहक शक्तिका रूपमा प्रस्तुत गर्दै कार्यकर्तालाई आगामी निर्वाचनमा अझ एकजुट भएर लाग्न आग्रह गरेका छन् । 

बाँके ऐतिहासिक र भावनात्मक सम्बन्ध रहेको स्मरण गराउँदै पुनले पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सपना पूरा गर्ने दायित्व आफूले लिएको बताएका छन् । भेलालाई काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गोपाल दहित, लुम्विनी प्रदेशका सभापति तथा बाँके क्षेत्र नं.३ का सभापति अमरसिंह पुन, उपसभापति तथा निर्वाचन परिचालन प्रचारप्रसार मुल समितिका संयोजक राजु खनाल, काँग्रेस बाँकेका सभापति तथा बाँके क्षेत्र नं.१ का उम्मेदवार नारायण प्रसाद गौडेल लगायले सम्वोधन गरेका थिए । कार्यक्रम पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा भएको थियो भने संचालन सचिव सञ्जु कुमारी थारुले गरेकी थिइन् ।

पुनले निर्वाचनलाई केवल सत्ता प्राप्तिको माध्यम नभई लोकतन्त्र सुदृढ गर्ने अवसरका रुपमा लिनुपर्ने धारणा व्यक्त गर्दै पार्टीका सबै तहका नेता–कार्यकर्तालाई इमान्दारिता, समर्पण र एकताका साथ चुनावी अभियानमा जुट्न आह्वान गरेका छन् । कार्यकर्ताको सक्रियता र जनतासँगको सम्बन्ध नै निर्वाचन जित्ने मुख्य आधार हुने उनले बताएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech