'एम्टी एरिना' प्रथम खजुरा गोल्डकप सुरु, गोर्खा ब्वाइजको विजयी सुरुवात

शाख न्यूज    प्रकाशित: २०८२-१२-३० गते   १२१ पटक हेरिएको

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-४ डी-गाउँमा 'एम्टी एरिना' प्रथम खजुरा गोल्डकप सुरु भएको छ । न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा गोल्डकप सुरु भएको हो । प्रतियोगिताको आज अपरान्ह खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले उद्घाटन गरे । अध्यक्ष विकले गोल्डकपलाई आगामी वर्षदेखि बजेटमै राखेर निरन्तरता दिइने बताए । उनले युवाहरुको उत्साहलाई साकार पार्न स्थानीय सरकारले हातेमालो गरेको बताए । क्लबका अध्यक्ष बालाराम खत्रीले करिब ५० हजार दर्शकले प्रतियोगितामा खेल अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।

प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फूटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेतालाई ७ लाख रुपैयाँ र द्वितीयलाई ४ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । नक आउटका आधारमा खेलाइने उक्त प्रतियोगिता बैशाख ६ गतेसम्म चल्नेछ । प्रतियोगितामा करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

उद्घाटन खेलमा गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल र सङ्कटा स्पोर्ट्स क्लब काठमाडौंबीच प्रतिष्पर्धा भएको छ । गोर्खा ब्वाइजले संकटालाई १-० गोलले हराउँदै गोर्खा विजयी सुरुवात गरेको छ । विजयी भएसँगै गोर्खा ब्वाइजले आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको छ । गोर्खाको तर्फबाट निराजन खत्रीले खेलको १४औं मिनेटमा एका मात्र निर्णायक गोल गरेर टिमलाई जित दिलाए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech