बालबालिकाको अपाङ्गता पहिचान सम्बन्धी दुई दिने शिक्षक तालिम सुरु

शाख न्यूज    प्रकाशित: २०८३-२-१२ गते   ३८८ पटक हेरिएको

प्रेम सिंह
बाँके १२ जेठ - बाँकेको जानकी गाउँपालिकामा विद्यालय उमेरका बालबालिकाहरूमा हुन सक्ने सम्भावित अपाङ्गताको प्रारम्भिक पहिचान (Disability Screening) सम्बन्धी दुई दिने विशेष क्षमता विकास तालिम मंगलबारदेखि सुरु भएको छ । जानकी गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम सुरु भएको हो। 

विद्यालयहरूमा डिजिटल सञ्चालनमा रहेको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) लाई थप प्रभावकारी बनाउँदै बालबालिकाको सिकाई अवस्था मजबुत पार्न संचालन गरिएको तालिमको उद्घाटन जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख अतिथि र सामाजिक विकास संयोजक रामअचल धोबिको अध्यक्षतामा भएको थियो । 

तालिममा जानकी गाउँपालिका अन्तर्गत संचालित २४ वटा सामुदायिक विद्यालय र १८ वटा धार्मिक विद्यालय (मदरसा तथा गुरुकुल) गरी जम्मा ४२ वटा विद्यालयका ४२ जना IEMIS फोकल शिक्षकहरूको सक्रिय सहभागिता रहेको छ । 

सामुदायिक र धार्मिक दुवै प्रकृतिका विद्यालयका जिम्मेवार शिक्षकहरूलाई एकै ठाउँमा राखेर तालिम दिइएकाले यसले गाउँपालिकाको शैक्षिक प्रणालीलाई थप समावेशी र प्रविधिमैत्री बनाउन ठूलो मद्दत पुग्ने प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताएका छन् । 

शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्णा कुमारी भण्डारीका अनुसार बाल विकास देखि कक्षा ३ सम्मका बालबालिकाहरूमा शारीरिक, मानसिक, बौद्धिक वा सिकाई सम्बन्धी अपाङ्गताहरू सुरुवाती चरणमा पहिचान हुन नसक्दा उनीहरू गुणस्तरीय शिक्षा र राज्यले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित हुने गरेका छन्।

विद्यालयस्तरमै IEMIS सफ्टवेयर मार्फत वैज्ञानिक ढंगले अपाङ्गताको प्रारम्भिक स्क्रिनिङ (पहिचान) गर्न सकेमा बालबालिकाको आवश्यकता अनुसारको भौतिक तथा शैक्षिक वातावरण तयार गर्न सहज हुने शाखा प्रमुख भण्डारीले बताएकी थिइन् ।

सहभागी शिक्षकहरूलाई बालबालिकाको प्रारम्भिक स्क्रिनिङ गर्ने व्यावहारिक विधि, सफ्टवेयरमा डिजिटल तथ्याङ्क प्रविष्टि (डाटा इन्ट्री) गर्ने प्रक्रिया र पहिचान भएका बालबालिकाहरूलाई राज्यको मूल प्रवाहीकरणमा ल्याउने उपायहरूबारे सिकाउने कार्यक्रम रहेको छ। यो तालिमले विद्यालयहरूमा अपाङ्गता भएका बालबालिकाहरूको वास्तविक तथ्याङ्क संकलनमा ठूलो सुधार आउने अपेक्षा गरिएको छ।

प्रशिक्षक गणेश भुजेलले दुई दिन सम्म प्रशिक्षण दिने भएका छन् भने कार्यक्रमको सहजीकरण झुमी कुमारी वलीले गरेकी थिइन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, स्थानीय सरोकारवाला तथा जनप्रतिनिधि लगायत कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech