जानकीमा भोलि (बुधबार) बृहत् रक्तदान कार्यक्रम हुँदै

शाख न्यूज    प्रकाशित: २०८३-२-१२ गते   ४६७ पटक हेरिएको

बाँके १२ जेठ - पश्चिम नेपालकै प्रमुख उपचार केन्द्रका रूपमा रहेको बाँकेमा भइरहेको रगत अभावलाई कम गर्न पत्रकारहरूले अग्रसरता देखाएका छन् । यसै क्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजनामा भोलि जेठ १३ गते बुधबार बाँकेको जानकी गाउँपालिकामा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ ।

जानकी गाउँपालिका कार्यालयको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । 

गर्मी र बिदाका कारण यतिबेला क्षेत्रीय रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात न्यून हुँदै गएपछि बिरामीको जीवन रक्षाका लागि यो आकस्मिक र बृहत् अभियान सञ्चालन गर्न लागिएको हो । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र बस्यालले कार्यक्रमको सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको जानकारी दिएका छन्  ।

अध्यक्ष बस्यालले भने, "अस्पतालमा रगत नपाएर छटपटाइरहेका बिरामीका लागि हाम्रो एक थोपा रगत अमृत समान बन्न सक्छ । त्यसैले सञ्चारकर्मसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै हामीले यो महाअभियान थालेका हौँ । जानकी गाउँपालिकाका सम्पूर्ण युवा, नागरिक समाज र सरोकारवालाहरूलाई भोलिको कार्यक्रममा सहभागी भई जीवनदान गर्न म हार्दिक अपिल गर्दछु ।"

जानकी गाउँपालिका कार्यालय, मानपुरमा भोलि जेठ १३ गते बिहान ठीक ७ः३० बजेदेखि सुरु हुनेछ । बिहानको शितल समयमै रक्तदाताहरूको सहजताका लागि कार्यक्रम छिटो सुरु गर्न लागिएको आयोजकले जनाएको छ । स्थानीय युवा, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणलाई स्वतस्फूर्त रूपमा उपस्थित भई रक्तदान गर्न आयोजकले अपिल गरेको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech