प्रेम सिंह ,
नेपालगन्ज १४ जेठ - बाँकेको जानकी गाउँपालिकामा विद्यालय उमेरका बालबालिकाहरूमा हुन सक्ने सम्भावित अपाङ्गताको प्रारम्भिक पहिचान (Disability Screening) सम्बन्धी दुई दिने विशेष क्षमता विकास तालिम सम्पन्न भएको छ । जानकी गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम मंगलबार देखि सुरु भएको थियो ।

नेपालगन्जस्थित स्वस्तिक कटेजमा संचालित तालिमको समापन जानकी गाउँपालिका सामाजिक विकास संयोजक रामअचल धोबिको अध्यक्षतामा सम्पन्न भएको छ । बालबालिकामा हुने अपाङ्गतालाई प्रारम्भिक चरणमै पहिचान गरी उनीहरूलाई शिक्षाको मूल प्रवाहमा ल्याउने उद्देश्यका साथ संचालित दुई दिने शिक्षक तालिम बुधबार सम्पन्न भएको छ। तालिममा जानकी गाउँपालिका अन्तर्गत संचालित २४ वटा सामुदायिक विद्यालय र १८ वटा धार्मिक विद्यालय (मदरसा तथा गुरुकुल) गरी जम्मा ४२ वटा विद्यालयका ४२ जना IEMIS फोकल शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष एवं सामाजिक विकास संयोजक धोबिले बालबालिकामा हुने अदृश्य वा प्रारम्भिक अपाङ्गता समयमै पहिचान नहुँदा उनीहरू शिक्षा र अवसरबाट बञ्चित भइरहेको बताएका छन् । अध्यक्ष धोबिले भने, "कक्षाकोठामा विद्यार्थीको सिकाई र व्यवहारलाई गहिरोसँग नियालेर अपाङ्गता वर्गीकरण गर्न सके मात्र हामी वास्तविक रूपमा समावेशी शिक्षाको नारालाई सार्थक बनाउन सक्छौँ ।"
तालिम समापनका अवसरमा सहभागी शिक्षकहरूले अबका दिनमा विद्यालयमा कुनै पनि बालबालिकालाई 'कमजोर' वा 'ढिलो सिक्ने' भन्दै उपेक्षा नगर्ने र उनीहरूको विशेष आवश्यकता पहिचान गरी अध्यापन गराउने प्रतिवद्धता जनाएका छन् । जानकी गाउँपालिकाले पनि आगामी नीति तथा कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको सहज पहुँचका लागि विद्यालयहरूमा अपाङ्गमैत्री भौतिक पूर्वाधार निर्माण र विशेष शैक्षिक सामग्री वितरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
तालिमका मुख्य प्रशिक्षक गणेश भुजेलले दुई दिनसम्म शिक्षकहरूलाई अपाङ्गता पहिचानका विविध आयामबारे प्रशिक्षण दिएका थिए भने झुमी कुमारी वलीले सहजीकरण गरेकी थिइन् । सो कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्णा कुमारी भण्डारी, स्थानीय सरोकारवाला तथा जनप्रतिनिधि लगायत कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।