बाँके - यादव समाज सेवा केन्द्र, केन्द्रिय समिति नेपालगन्जको आयोजनामा संस्थाको २० औं साधारण सभा तथा ५ औं ऐतिहासिक महाधिवेशन विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरूका साथ भव्यताका साथ सम्पन्न भएको छ।
यादव सेवा केन्द्र केन्द्रीय कार्यसमितिको २० औं वार्षिक साधारणसभा तथा ५ औं महाधिवेशनबाट सोहनलाल यादव अध्यक्ष पदमा निर्वाचित भएका छन् । संगठनलाई अझ सुदृढ, गतिशील र समावेशी बनाउने संकल्पका साथ यादवको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष सोहनलाल यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल यादव महासंघका अध्यक्ष भुनेश्वर यादवले यादव समुदायको एकता, शिक्षा, सामाजिक रूपान्तरण र नेतृत्व विकासमा यादव सेवा केन्द्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । उनले नयाँ नेतृत्वले समुदायका साझा मुद्दा उठाउँदै संस्थालाई अझ सशक्त बनाउने विश्वासका साथै समाजको उत्थान, हकहित संरक्षण र सामाजिक रूपान्तरणमा यादव समाज सेवा केन्द्रले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
सम्बोधन गर्दै गुलरिया नगरपालिका बर्दियाका नगर प्रमुख मुक्तिनाथ यादवले समाजको संस्कार र पहिचानलाई भावी पुस्तासम्म लैजानुपर्ने बताएका छन् । उनले भने, "हाम्रो आफ्नै मौलिक पहिचान छ त्यसैले कार्यक्रमहरूमा आफ्नो सांस्कृतिक पहिचान झल्किने धोती-कुर्ता जस्ता सामाजिक पहिरन लगाएर उपस्थित हुन जरुरी छ ।"
कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष टिकानाथ यादवले सोहनलाल यादव लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय, समर्पित र लोकप्रिय व्यक्तित्व भएकै कारण सर्वसम्मत रूपमा अध्यक्षमा निर्विरोध निर्वाचित हुन सफल भएको उल्लेख गरेका छन् । उनले सामाजिक एकता र लोककल्याणकारी कार्यमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
त्यसैगरी पूर्वमन्त्री विजय बहादुर यादवले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै यादव सेवा केन्द्रले समुदायको हित, सामाजिक सद्भाव र युवापुस्ताको सशक्तीकरणमा अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
आफ्नो मन्तव्यका क्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री माननीय भण्डारीलाल यादवले यादव समुदाय राजनीतिक र सामाजिक रूपमा केही पछाडि परेको महसुस भए पनि अन्याय र अत्याचारका विरुद्ध सदैव अग्रपंक्तिमा उभिने वीर पहिचान बोकेको उल्लेख गरेका छन् । "हाम्रो समाजले सधैं स्वाभिमान र न्यायको लागि लडाईं लडेको छ, तर अबको आधुनिक युगमा समाजलाई अझ अगाडि बढाउन उच्च शिक्षा र सही संस्कारको आवश्यकता छ," उनले भने ।
समाजमा विभिन्न क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । निःशुल्क स्वास्थ्य चेकजाँचका साथै आकस्मिक स्वास्थ्य उपचारका लागि रगतको अभाव हुन नदिन युवाहरूको उत्साहजनक सहभागितामा रक्तदान गरिएको थियोे । कार्यक्रमको उद्घाटन निवर्तमान अध्यक्ष सुर्यलाल यादवको अध्यक्षतामा सुरु भएको थियो । निवर्तमान अध्यक्ष यादवले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रती धन्यवाद ज्ञापन गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष सोहनलाल यादवले आफूलाई दिएको विश्वास र जिम्मेवारीप्रति आभार व्यक्त गर्दै यादव समुदायको हकहित, शिक्षा, सामाजिक विकास तथा संस्थागत सुदृढीकरणका लागि सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
शनिबार जिल्ला समन्वय समिति, बाँकेको सभाहलमा आयोजित उक्त महाधिवेशनमा राम सुरेश यादव, राजु यादव, वीरेन्द्र यादव, यादव समाज सेवा दाङका अध्यक्ष हिरालाल यादव, डा. श्यामसुन्दर यादव, सुरेश कुमार परसैला, संस्थापक सल्लाहकार बलराम यादव, दयाराम यादव लगायत समाजका अगुवा, बुद्धिजीवी तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
