देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यकालागि राजनीतिक दलहरू जिम्मेवार हुनुपर्छ :- अध्यक्ष यादव

पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले नयाँ जनादेशसहित गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मिलित वर्तमान सरकारलाई रचनात्मक सहयोग गर्दै काम गर्ने अवसर दिनुपर्ने र हतारमा टीकाटिप्पणी गर्न नहुने बताएका छन् ।

शाख न्यूज    प्रकाशित: २०८३-२-२६ गते   ८३१ पटक हेरिएको

प्रेम सिंह 

बाँके - जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि सबै राजनीतिक दलहरू जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । अवधि पत्रकार संघ, नेपाल केन्द्रीय कार्यसमितिद्वारा मंगलबार बाँकेको नेपालगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले उक्त कुरा बताएका छन् ।

पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले नयाँ जनादेशसहित गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मिलित वर्तमान सरकारलाई रचनात्मक सहयोग गर्दै काम गर्ने अवसर दिनुपर्ने र हतारमा टीकाटिप्पणी गर्न नहुने बताएका छन् ।

सुकुम्बासीहरूको उचित व्यवस्थापन नगरी घरबार उठाउने कदम र बिजुलीमा थप कर लगाउने जस्ता अलोकप्रिय कार्यहरू तत्काल गम्भीर विश्लेषण नगरी गर्दा प्रतिउत्पादक हुन सक्ने भन्दै सतर्क रहन सुझाव उनले दिएका छन् । यद्यपि, सुशासन र बिचौलिया अन्त्यका लागि सरकारले चालेका सकारात्मक कदममा आफ्नो दलको समर्थन रहने उनले प्रष्ट पारेका छन्  ।

अध्यक्ष यादवले प्रधानमन्त्रीले संसदमा नेपालले पनि भारतको सीमा मिचेको छ भनी दिएको कूटनीतिक अभिव्यक्ति तथ्य र ऐतिहासिक प्रमाण विपरित तथा अपरिपक्व भएको टिप्पणी गरेका छन् । भारत सरकार स्वयंले यस्तो दाबी नगरेको अवस्थामा प्रधानमन्त्रीले हतारमा बोल्दा देश कूटनीतिक रूपमा अप्ठ्यारोमा पर्न सक्ने उनको भनाइ थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो सरकार टिकाउन जसपा नेपाल फुटाउने कार्य गरेको र हाल सर्वोच्च अदालतले अशोक राई नेतृत्वको उक्त नयाँ दललाई अवैध ठहर गरिसकेको अध्यक्ष यादवले स्मरण समेत गराएका थिए।

अदालतको आदेशपछि प्रदेश सभा सदस्यहरू स्वतः जसपा नेपालमै फर्किएको अवस्थामा, पार्टीको अनुमति बिना लुम्बिनी प्रदेशमा सांसद्हरूलाई मन्त्री बनाई शपथ ग्रहण गराउनु बहुदलीय व्यवस्था र लोकतान्त्रिक मूल्य-मान्यता विपरित भएको अध्यक्ष यादवले आरोप लगाएका छन् ।
 
विगत ३४ वर्षसम्म देशमा शासन गरेका पुराना दलहरू अझै पनि जालझेल र षड्यन्त्रमै रुमल्लिरहेको र उनीहरू सुध्रिने सम्भावना न्यून रहेको उनले दाबी गरेका छन् । उनले पार्टीको अनुमति विपरीत मन्त्री बनेकाहरूलाई तुरुन्त बर्खास्त गरेर राजनीतिक चरित्र देखाउन कांग्रेस-एमाले नेतृत्वलाई आग्रह गरेका छन् ।

मुलुकमा व्याप्त गरिबी, बेरोजगारी, ध्वस्त हुँदै गएको शिक्षा र स्वास्थ्य क्षेत्र तथा ७० लाखभन्दा बढी युवाहरू विदेशिनु परेको गम्भीर अवस्थालाई समाधान गर्न दीर्घकालीन सोचका साथ अगाडि बढ्नु नै आजको मुख्य आवश्यकता रहेको अध्यक्ष यादवले औंल्याएका छन् ।

संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा सम्पन कार्यक्रमको सहजीकरण महासचिव गुरुमुरत यादवले गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्बिका काफ्ले, जसपा नेपालका केन्द्रीय सचिव कमरुद्दीन राई, केन्द्रीय सदस्य सिपी सिंह, बाबु खान पठान, संचारकर्मी  लगायतको उपस्थिति रहेको थियो।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech