सुर्खेत १७ असार - भेरीगंगा नगरपालिकाका प्राविधिक प्रमुख एवं छैटौं तहका इन्जिनियर गणेश कार्कीमाथि कार्यस्थलमै कुटपिट र ज्यान मार्ने धम्की आएपछि नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन्। नदीजन्य पदार्थको ठेक्का सम्बन्धी विवादलाई लिएर ठेकेदार कमल खड्काले प्राविधिक प्रमुख कार्कीमाथि हातपात गरेपछि कर्मचारीहरूले काम बहिष्कारको घोषणा गरेका हुन्।
नगरपालिका कार्यालयमा भएको छलफल सकिएर बाहिर निस्कने क्रममा वीरेन्द्रनगर-६ बस्ने ४१ वर्षीय ठेकेदार खड्काले इन्जिनियर कार्कीमाथि दिउँसो ३:२५ बजे आक्रमण गरेको बताइएको छ। घटनाको सिसिटिभी फुटेज समेत सार्वजनिक भइसकेको छ।
घटना लगत्तै आक्रोशित बनेका नगरपालिकाका कर्मचारीहरूले दोषीलाई कडा कारबाही र आफ्नो सुरक्षाको ग्यारेन्टी माग गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समक्ष संयुक्त हस्ताक्षरसहितको पत्र बुझाएका छन्।
प्रमुख प्रशासकीय अधिकृत, प्रमुख लेखा अधिकृत तथा शाखा अधिकृतहरू सहितका कर्मचारीहरूले सामूहिक रूपमा बुझाएको ध्यानाकर्षण पत्रमा राष्ट्रसेवक कर्मचारीमाथि कार्यकक्षमै पुगेर धम्की दिने र हातपात गर्ने ठेकेदार कमल खड्कालाई तत्काल नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउनुपर्ने, भयमुक्त वातावरणमा काम गर्ने स्थिति नबनेसम्म र कर्मचारीको सुरक्षा सुनिश्चित नभएसम्म नगरपालिकाको कुनै पनि प्रशासनिक तथा प्राविधिक कार्य अघि नबढाउने उल्लेख गरिएको छ ।
घटनाको सत्यतथ्य पुष्टि गर्ने सिसिटिभी फुटेज लगायतका विद्युतीय प्रमाणहरू आवश्यक परेको खण्डमा प्रशासनलाई उपलब्ध गराउने भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीले जानकारी दिएका छन् ।
कर्मचारीहरूले "दोषीमाथि कारबाही नभएसम्म कामकाजमा नफर्कने" अडान लिएका कारण नगरपालिकाको दैनिक प्रशासनिक सेवा प्रभावित हुने देखिएको छ। स्थानीय जनप्रतिनिधि र प्रशासनले भने घटनालाई गम्भीरतापूर्वक लिँदै समस्या समाधानका लागि पहल थालेका छन्।