नेपालगञ्ज - बाँकेको जमुनाह नाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ (भारु) ५ लाख बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५, जमुनाह क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो । बरामद गरिएको भारतीय मुद्रा रु. ५ लाख बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले सोमबार बरामद गरेको ५ लाख भारुलाई सम्बन्धित कानुनी प्रक्रियाका लागि राजस्व तथा अनुसन्धान निकायमा मंगलबार बुझाउने तयारी गरिएको जनाएको छ ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधिविरुद्ध सुरक्षा निगरानी थप कडा बनाइएको छ । सीमा अपराध नियन्त्रण, अवैध तस्करी तथा गैरकानुनी कारोबार रोकथामका लागि सशस्त्र प्रहरी परिचालनका साथै सिसिटिभी क्यामेरा समेत जडान गरिएको छ ।
हाल जमुनाह नाका लगायत बाँकेका विभिन्न सीमावर्ती क्षेत्रमा चेकजाँचलाई तीव्रता दिइएको छ भने अवैध कारोबारमा संलग्न व्यक्तिमाथि निगरानी बढाइएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।