बाँके - बाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राहरूको पहुँच बढाउने र विद्यालय छोड्ने दरलाई कम गर्ने उद्देश्यका साथ पालिकाभित्रका सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण गरी कक्षा ११ मा भर्ना भएका छात्राहरूलाई साइकल वितरण गरिएको छ ।

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा शैक्षिक सत्र २०८१ र २०८२ मा सफलताका साथ SEE उत्तीर्ण गरी प्लस २ अध्ययन गरिरहेका २३ जना छात्राहरूलाई प्रोत्साहन स्वरूप गाउँपालिकाकै प्राङ्गणमा आयोजना गरी ती साइकलहरू मंगलबार हस्तान्तरण गरिएको हो ।


कार्यक्रममा बोल्दै अध्यक्ष खाँले ग्रामीण क्षेत्रका छात्राहरूलाई उच्च शिक्षा हासिल गर्न सहज होस् र यातायातको अभावमा कसैले पनि पढाइ छोड्नु नपरोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताएका छन् । उनले यो सहयोगले छात्राहरूको विद्यालय आउने–जाने समय बचत हुने र उनीहरूको शिक्षामा समेत सुधार आउने विश्वास व्यक्त गरेका थिए ।


जानकी गाउँपालिका वडा नम्बर ५का अध्यक्ष तथा प्रवक्ता टिकानाथ यादवले पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रोत्साहनमूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका छन् ।


गाउँपालिकाको यो कार्यले लक्षित वर्गका छात्राहरूको उच्च शिक्षाप्रतिको मनोबल थप उच्च बनाएको छ । घरबाट टाढा रहेका उच्च माध्यमिक विद्यालयसम्म आवतजावत गर्नका लागि साइकल पाएपछि छात्राहरु उत्साहित देखिएका छन् । साइकल वितरणले विपन्न तथा टाढाबाट आउने छात्राहरूलाई नियमित विद्यालय जान ठूलो राहत पुग्ने भएको छ ।




शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्णा कुमारी भण्डारीले सहजीकरण गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, सामाजिक विकास संयोजक रामअचल धोबि, योजना शाखा प्रमुख शोभा पौडेल, आईटी प्रमुख विकास जिसी, जनप्रतिनिधि, अभिभावक, छात्रा, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।




