जानकी गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाई: प्रमुख प्रशासकीय अधिकृतद्वारा चालु आ.वको विस्तृत प्रगति विवरण सार्वजनिक

शाख न्यूज    प्रकाशित: २०८३-३-३१ गते   ४९२ पटक हेरिएको

प्रेम सिंह 

बाँके - जानकी गाउँपालिकाले प्रवाह गर्ने सेवा र सुविधालाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यका साथ एक भव्य सार्वजनिक सुनुवाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। गाउँपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा बुधबार उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले चालु आर्थिक वर्षमा सम्पन्न भएका शाखागत आर्थिक, भौतिक तथा वित्तीय प्रगतिको विस्तृत विवरण सार्वजनिक गरेका थिए ।

सार्वजनिक सुनुवाइमा गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु र बिभिन्न शाखाका शाखा प्रमुखले सहभागिहरुले गरेको प्रश्नको जवाफ दिएका थिए । सुनुवाईमा उठेका सवालहरुलाई समेटेर ७ बुँदे साझा सार्वजनिक प्रतिवद्धताको घोषण गरिएको छ । 

प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश, संघीय इकाई र विभिन्न संघ-संस्थाहरूसँग निरन्तर समन्वय र सहकार्य भइरहेको बताएका छन् । चालु आर्थिक वर्षमा प्र.अ बैठक ९ पटक र गाउँ शिक्षा समितिको बैठक ४ पटक सम्पन्न भएको छ । माध्यमिक विद्यालयको परीक्षाको नियमित अनुगमन चैत्र १९ गतेदेखि २६ गतेसम्म गरिएको थियो ।

आधारभूत तह कक्षा ८ को विद्यालय स्तरको वार्षिक परीक्षा चैत ८ देखि १६ गतेसम्म, यसैगरी, SEE को प्रि-टेस्ट, मूल्याङ्कन र नतिजा विश्लेषण माघ ११ देखि १९ गतेसम्म सम्पन्न भएको छ । बालविकासदेखि कक्षा ३ सम्मको प्रारम्भिक अपाङ्गता परीक्षण कार्य निरन्तर चलिरहेको छ । साथै, विद्यालय बाहिर रहेका बालबालिकाहरूको पहिचानका लागि यस चालु आ.वमा ६ वटै वडामा सर्वेक्षण सम्पन्न गरी डाटा तयार पारिएको छ ।

 शिक्षकहरूको कार्यक्षमता बढाउन सूचना प्रविधि (IT) र एआई (AI) सम्बन्धी क्षमता विकास तालिमहरू प्रदान गरिएको थियो । पुष १६ देखि १८ गतेसम्म राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता र २०८३ वैशाख ३० देखि जेठ गतेसम्म अध्यक्ष कप क्रिकेट प्रतियोगिताका साथै  मा.वि स्तरीय हाजिरजवाफ र वक्तृत्वकला प्रतियोगिताहरू पनि सञ्चालन गरिएको जानकारी दिएका छन् ।

महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण र संरक्षणका लागि यस शाखाले महत्त्वपूर्ण कामहरू गरेको छ । चालु आ.वमा ६४ जनाले अपाङ्गता परिचय पत्र लिएका छन् र १९ जना सामाजिक सुरक्षा सेवाका लागि दर्ता भएका छन् । योसँगै गाउँपालिकामा परिचय पत्र लिने अपाङ्गता भएका व्यक्तिहरूको कुल सङ्ख्या ६४२ पुगेको उल्लेख गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरूका लागि १२ थान ह्विलचेयर, ९ थान ट्राइसाइकल, १५ थान क्रचर (वैशाखी), १२ सेट बैशाखी र १५ थान सेतो छडी खरिद गरी स्टोरमा दाखिला गरिएको छ, जुन छिट्टै वितरण गरिने उनले जानकारी दिएका छन् ।

गाउँपालिकामै घरेलु स्यानिटरी प्याड बनाउने तालिम ७ जना किशोरीलाई र १० जना किशोरीलाई ४५ दिने आधारभूत ब्युटिसियन तालिम प्रदान गरिएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान र बाल क्लबको बैठक सबै वडाहरूमा एक-एक पटक सम्पन्न भएको छ । लैंगिक हिंसा निवारण कोषबाट २ जना महिलालाई र बाल संरक्षण कोषबाट ८ जना बालबालिकाहरूलाई जनही १० हजार रुपैयाँका दरले अनुदान सहयोग उपलब्ध गराइएको छ ।सुरक्षित वैदेशिक रोजगार र आन्तरिक रोजगारी प्रवर्द्धनका लागि चालु आ.वमा ५९ जनालाई श्रम र पूर्ण श्रम स्वीकृति प्रदान गरिएको छ । त्यसैगरी  बिरामी तथा अङ्गभङ्ग भएका ३ जना र स्वास्थ्य उपचार सहयोगका लागि २ जनालाई सिफारिस गरिएको छ भने मनोपरामर्श सेवा २५ जनाले लिएका छन् ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका ३ जनाको परिवारले वैदेशिक रोजगार बोर्डबाट जनही १० लाख रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, विदेशमा रहेका कामदारका ८ जना बालबालिकाहरूलाई छात्रवृत्ति (निमावि तहलाई १२ हजार र मावि तहलाई १६ हजार रुपैयाँका दरले) उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि उद्यमशीलता प्रवर्द्धन कार्यक्रम गरिएको छ । वडा नम्बर २ मा 'एन.एन. भट्टादेखि सलिम तेलीको घरसम्म' र 'हक्कल खटीको घरदेखि गुडै गादुको घरसम्म' बाटो मर्मत कार्यमार्फत ५ जना स्थानीयले न्यूनतम १० दिनको रोजगारी प्राप्त गरेका छन् । समुदाय स्तरमा १८ वटा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सचेतना अभियान, अभिमुखीकरण, सञ्जाल गठन, रोजगार संवाद मञ्च र मानसिक स्वास्थ्य दिगोपना सम्बन्धी पालिका स्तरीय कार्यक्रमहरू सम्पन्न भएका छन् ।

स्थानीय स्तरमा उद्यमशीलता विकासका लागि वडा नम्बर ३ र ४ मा दुई वटा मेटपा मोडल कार्यक्रम सम्बन्धी अभिमुखीकरण र एक वटा सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । दुवै वडामा पीआर कार्यक्रममार्फत दुई वटा समूह गठन र पीआरएम सम्पन्न गरिएको छ । सम्भाव्य उद्यमीको एबकेबी (ABKB) फारम ५१ जनाको भरिएको छ । वडा नं ३ र ४ मा ४९ जनालाई उद्यमशीलता विकास तालिम र ४९ जनालाई सिलाई-कटाई तालिम सञ्चालन गरी मेसिन हस्तान्तरण गरिएको छ । लघुवित्त र बजारीकरण पहुँच विकासका लागि १ दिनको कार्यक्रम र स्तरउन्नतितर्फ १० दिनको डल कुसन एडभान्स तालिम दिई १ सेट सिलाई मेसिन प्रदान गरिएको छ ।

कृषि उत्पादन वृद्धि र पशु स्वास्थ्य रक्षाका लागि ८,१२० वटा पशुको उपचार, १२ हजार ५ सय पशुलाई खोप, १ सय ४१ वटा प्रयोगशाला सेवा र २ सय ८२ वटा पशुको बन्ध्याकरण सम्पन्न भएको छ । कृत्रिम गर्भाधानतर्फ गाईको २ सय २८, भैँसीको १ सय ९५ र बाख्राको २ वटा सम्पन्न भएको छ । कृषि सामग्री वितरण ५ जना व्यवसायी किसानलाई ५०% अनुदानमा तरकारी बिउ, २ सय ८० किसानलाई निःशुल्क गहुँको बिउ र १ हजार ५ सय जना किसानलाई तरकारीको सानो किट वितरण गरिएको छ । त्यसैगरी २८ वटा आमा समूहमा आवद्ध ६ सय जनाको खेतबारीको माटो परीक्षण गरिएको छ । कृषि उत्पादन बढाउन स्प्रे ट्याङ्की पनि वितरण गरिएको छ ।

रासायनिक मल व्यवस्थापन समितिको २० वटा र आर्थिक विकास समितिको ३ वटा बैठक बसेको थियोे । जिल्लाबाट १९ पटक मल प्राप्त भएकोमा गाउँपालिकाले २० पटक बैठक बसेर २७ वटा सहकारीमार्फत १३ हजार १ सय ९३ बोरा युरिया, ८ हजार ६ सय ८० बोरा डीएपी र १ सय २ बोरा पोटास मल व्यवस्थित रूपमा वितरण गरेको छ । गत आर्थिक वर्षबाट स्रेस्ता सरेर आएका २ वटा र यस वर्ष दर्ता भएका ५ वटा गरी कुल ७ वटा मुद्दामध्ये हालसम्म ४ वटा मुद्दा निर्णय भई फर्छ्यौट भएका छन् र बाँकी ३ वटा मुद्दा प्रक्रियामा रहेका छन् ।

भौतिक पूर्वाधार, स्वास्थ्य तथा सामाजिक विकास अन्तर्गत १५ शय्याको नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको मुख्य प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा रहेको र बिहिबार देखि नै तल्लो तलाबाट सेवा प्रवाह सुरु गर्ने तयारी छ । त्यसैगरी  कन्या आ.विको स्तरउन्नति गरिएको छ, मावि स्तरमा ४ कोठे भवन निर्माण सम्पन्न भएको छ भने जानकी माविमा ४ कोठे र २ कोठे भवन निर्माणको अन्तिम चरणमा रहेको छ । ४ वटा विद्यालयमा फर्निचर व्यवस्थापन गरिएको छ ।

त्यसका साथै वडा नम्बर ३, ४ र ५ मा बर्थिङ सेन्टर स्थापना गर्ने निर्णय भई आवश्यक तयारी पूरा भएको छ भने क्षेत्रीय पोषण कार्यक्रम साझेदारी संस्थाको समन्वयमा सम्पन्न भएको छ । विभिन्न वडाहरूमा आँखा र स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गरिब, असहाय र विपन्न परिवारलाई झुल र शीतलहरबाट जोगाउन न्यानो कम्बल वितरण गरिएको छ । बजेटको सीमाभित्र रहेर वडा नं. १ देखि ६ सम्मका विभिन्न स्थानमा सडक मर्मत, स्तरउन्नति र विस्तारको कार्य सम्पन्न गरिएको छ । स्थानीय स्तरका मेला, सांस्कृतिक कार्यक्रम, साहित्य सम्मेलन र खेल पर्यटनमार्फत गाउँपालिकाको पर्यटन प्रवर्द्धन गर्ने कार्य गरिएको छ । 

प्रतिवेदनको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले गाउँपालिकाले प्रत्येक तीन महिनामा स्वतः प्रकाशन नीति अनुरूप वेबसाइटमा विवरण राख्ने गरेको जानकारी दिएका छन  । चालु आव असार मसान्तसम्मको यो सम्पूर्ण विस्तृत आर्थिक र भौतिक प्रतिवेदन आगामी साउन १६ गतेभित्र गाउँपालिकाको आधिकारिक वेबसाइटमा सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । नागरिकहरुले उठाएका सवालहरुको जवाफ समेत दिदै आगामी आर्थिक वर्षमा समेत सम्बोधन गरिने बताएका छन् ।

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको कार्यक्रममा बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले स्वागत संगै नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्र सर्वेक्षणको नतिजा सार्वजनिक गरेका थिए । सो कार्यक्रममा विभिन्न शाखाका कर्मचारी ,जनप्रतिनिधि, लेखा अधिकृत मतिनअहमद अन्सारी, बुद्धिजीवी लगायत स्थानीयवासिहरुको उपस्थिति रहेकोथियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech