दोदा नदी किनारको पर्यावरण जोगाउन बृहत् वृक्षारोपण : बिरुवा जोगाउन काँडेतार घेराबार

शाख न्यूज    प्रकाशित: २०८३-४-२१ गते   ४५२ पटक हेरिएको

कंचनपुर - दोदा नदीको तटीय क्षेत्रमा बढ्दो नदी कटान नियन्त्रण तथा वातावरणीय सन्तुलन कायम राख्न कञ्चनपुरको लालझाडी गाउँपालिकामा संरक्षणमुखी बृहत् वृक्षारोपण अभियान सुरु भएको छ। गाउँपालिकाको वडा नम्बर २ स्थित दोदा नदी किनारको संवेदनशील क्षेत्रमा बिहीबार वृक्षारोपण कार्यक्रमको उद्घाटन गरिएको हो।

नदीजन्य प्रकोपको जोखिम न्यूनीकरण र हरित क्षेत्र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमको उद्घाटन लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना र उपाध्यक्ष सपना चौधरी राना द्वारा संयुक्तरूपमा गरिएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष रानाले तटीय क्षेत्रको जमिन कटान रोक्न र रैथाने जैविक विविधताको संरक्षणका लागि वृक्षारोपण अपरिहार्य रहेको बताएका छन् ।

पर्यावरण संरक्षण अभियान लालझाडी गाउँपालिका, पेसवान, राष्ट्रिय समाज कल्याण संघ (NNSWA) र मर्सिकोर (Mercy Corps) लगायत संयुक्त साझेदारी तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। स्थानीय सरकार र गैरसरकारी संस्थाहरूको समन्वयले नदी तटीय क्षेत्रका नागरिकको सुरक्षामा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।

विगतका वर्षहरूमा रोपिएका बिरुवाहरू संरक्षणको अभाव र छाडा चौपायाका कारण नष्ट हुने गरेको समस्यालाई मध्यनजर गर्दै यसपटक विशेष सतर्कता अपनाइएको छ।  रोपिएका बिरुवाको पूर्ण सुरक्षाका लागि आधुनिक काँडेतार र मजबुत घेराबारको समेत व्यवस्था गरिएकाले बिरुवाहरूलाई सतप्रतिशत हुर्काउन मद्दत पुग्ने प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले जानकारी दिएका छन् । 

गाउँपालिका प्रशासन र साझेदार संस्थाहरूले यो अभियान केवल एक दिनको औपचारिकतामा मात्र सीमित नहुने प्रष्ट पारेका छन्। दोदा नदी किनारको भू-क्षय रोक्न र दीर्घकालीन वातावरणीय सुरक्षाका लागि आगामी दिनहरूमा पनि यो वृक्षारोपण तथा तटबन्ध संरक्षण कार्यक्रमलाई निरन्तर रूपमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

वृक्षारोपण कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष आसाराम राना, कार्यपालिका सदस्यहरु, पालिकाका कर्मचारीहरु तथा लालझाडी गाउँपालिका वडा नं. २ विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु, जनप्रतिनिधि, कर्मचारी र नागरिक समाज, सामाजिक अभियन्ताहरु लगायत स्थानीयवासिहरुको समेत  सहभागिता थियो। 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech