कोहलपुरको होटल म्याक्समा प्रहरीको छापा, अनलाइन ठगीको आशंकामा ४० भारतीयसहित ४२ जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०८३-६-६ गते   २५६ पटक हेरिएको

 बाँके ६ असोज - बाँकेको कोहलपुर नगरपालिका–११ स्थित ‘होटल म्याक्स’ मा जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष अपरेसन चलाएर ठूलो संख्यामा शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले होटलमा छापा मारी करिब ४२ जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतित सिंह राठोरका अनुसार पक्राउ पर्नेहरूमा ४० जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू होटलका कोठाहरू बुक गरेर अवैध अनलाइन बेटिङ (सट्टेबाजी) तथा गेमिङ एप्लिकेसनमार्फत ठगी धन्दामा संलग्न रहेको आशंका गरिएको छ।

प्रहरीले छापा मार्ने क्रममा अनलाइन गेमिङ र सट्टेबाजीमा प्रयोग हुने ल्यापटप, मोबाइल फोन, सिमकार्ड तथा अन्य विद्युतीय उपकरणहरू समेत बरामद गरेको स्रोतले जनाएको छ। घटनाको संवेदनशीलता र थप प्रमाण नष्ट हुन नदिन प्रहरीले होटल म्याक्सलाई पूर्ण रूपमा सिल गरेको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ। "हामीले विशेष सूचनाको आधारमा होटलमा छापा मारेर ४२ जनालाई नियन्त्रणमा लिएका छौँ," सूचना अधिकारी राठोरले भन्नुभयो, "उनीहरू कुन प्रकृतिको नेटवर्कसँग जोडिएका छन् र कसरी अवैध गतिविधि सञ्चालन गरिरहेका थिए भन्नेबारे प्राविधिक विश्लेषणसहित अनुसन्धान भइरहेको छ। अनुसन्धान सकिएपछि विस्तृत विवरण सार्वजनिक गरिनेछ।"

पछिल्लो समय नेपालका सीमावर्ती सहरहरूमा होटल तथा घरहरू भाडामा लिएर विदेशी नागरिकहरूले अवैध डिजिटल सट्टेबाजी र वित्तीय ठगीका सञ्जाल चलाउने गरेको घटनाहरू बढ्दै गएका छन्। 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech