रमेश कुमार यादव ,
नेपालगन्ज - बाँकेको डुडुवा गाउँपालिकास्थित राप्ती नदीमा हुने दुर्गा मूर्ति विसर्जन कार्यक्रमलाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित बनाउन स्थानीय प्रशासन, जनप्रतिनिधि र सुरक्षा निकायले सुरक्षा रणनीतिमा ठूलो कडाइ गरेका छन्।
मंगलबार डुडुवा गाउँपालिकाको वडा नं. ४ र ५ का जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीय अगुवाहरूको संयुक्त बैठकले विसर्जनका क्रममा हुन सक्ने सम्भावित दुर्घटना, उच्छृङ्खल गतिविधि र अशान्तिलाई रोक्न कडा निर्णयहरू गरेको हो।
विगतका अनुभव र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बैठकले मूर्ति विसर्जनका क्रममा कसैलाई पनि अनावश्यक रूपमा हातहतियार प्रदर्शन गर्न नदिने निर्णय गरेको छ। हतियार प्रदर्शनले सर्वसाधारणमा त्रास फैलाउने र झडपको स्थिति सिर्जना हुन सक्ने भएकाले यो कदम चालिएको जानकारी दिएका छन् । यदि कसैले बैठकको निर्णय अटेर गरी हतियार प्रदर्शन गरेमा कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
यसैगरी, विसर्जनको वातावरणलाई भद्र र अनुशासित बनाउन अनावश्यक चर्को आवाजमा डिजे (DJ) बजाउन समेत पूर्ण रूपमा रोक लगाइएको छ। बाँकेको सिधनीया क्षेत्र जिल्लाभरिकै दुर्गा मूर्ति विसर्जन गरिने मुख्य धार्मिक स्थल हो।
नवरात्रको अवधिभर पूजा प्रतिष्ठा र धार्मिक वातावरणमा खलल पार्ने कुनै पनि अवाञ्छित गतिविधि भएमा तुरुन्त इलाका प्रहरी कार्यालयलाई जानकारी गराउन स्थानीय बासिन्दाहरूलाई इलाका प्रहरी कार्यालय कम्दीका प्रहरी सहायक निरीक्षक बि.कले अपिल गरेका छन् । शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासन चौबिसै घण्टा उच्च सतर्क (हाइअलर्ट) अवस्थामा रहने बैठकले जनाएको छ। उक्त बैठक ले मुर्ति बिसर्जनका लागि सबैले एक जुट हुनुपर्ने प्रहरी सहायक निरीक्षक बि.कले जानकारी दिएका छन् ।
मूर्ति विसर्जनको दिन उक्त क्षेत्रमा श्रद्धालु र सवारी साधनहरूको अत्यधिक चाप हुने गर्दछ। ट्राफिक व्यवस्थापन चुस्त राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न विसर्जनको दिन पूर्वमा अगैयादेखि पश्चिममा नेपालगन्ज बसपार्कसम्मको यातायात रुट बन्द गर्ने निर्णय गरिएको छ। यसका लागि सुरक्षाकर्मीलगायत सम्बन्धित निकायहरूलाई आवश्यक समन्वय र पूर्वतयारीका लागि जानकारी गराउने निर्णय गरिएको छ।
धार्मिक सद्भाव र सामाजिक भाइचाराको वातावरणमा दशैं तथा मूर्ति विसर्जन पर्व सम्पन्न गर्न जनप्रतिनिधिहरूले सम्पूर्णमा हार्दिक अनुरोध समेत गरेका छन्। डुडुवा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सगीर खाँ, वडा नं. ५ का वडा अध्यक्ष झंकबहादुर थापा, वडा क्षेत्रका दुर्गा मूर्ति समितिका पदाधिकारीहरू, नागरिक समाजका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, स्थानीय जनप्रतिनिधिहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।