सरकारी छाप, दस्तखत किर्ते र ठगी मुद्दामा भागिरहेका व्यक्ति सात वर्षपछि पक्राउ

शाख न्यूज    प्रकाशित: २०७७-४-८ गते   ४३७ पटक हेरिएको

काठमाण्डाै – सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दामा दोषी ठहर भएपछि भागिरहेका ललितपुरको महाङ्काल गाउँपालिका २ का हरिशरण महत सात वर्षपछि पक्राउ परेका छन् ।

उच्च अदालत पाटनले उनलाई दोषी ठहर गर्दै २०७० सालको चैत १७ गते दुई वर्ष कैद र ३७ लाख ५० हजार रुपैयाँ जरिबाना फैसला गरेको थियो । ललितपुरको सातदोबाटोमा लुकेको अवस्थामा पक्राउ परेका उनलाई बिहीबार फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाण्डाैमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।

उनले लोप्साङ लामा र च्यूङ्ताङ लामाको नाममा संयुक्त दर्ता रहेको काठमाण्डाैकाे नागार्जुन नगरपालिका ५ सीतापाइलामा रहेको दुई रोपनीभन्दा धेरै जग्गा मालपोत कार्यालय कलङ्कीका खरिदार भीमबहादुर राईसमेतको मिलेमतोमा नक्कली कागजात बनाएर बेचबिखन गरेको खुल्न आएको सीआईबीले जनाएको छ । त्याे जग्गा पोखराका प्रविणमान श्रेष्ठलाई महतले २०६४ सालको चैत २४ गते ७५ लाख रुपैयाँमा बेचेको पनि खुलेको सीआईबीले जनाएको छ । मालपोत कार्यालय कलङ्कीका खरिदार भीमबहादुर राईलाई भने ब्युरोको टोलीले २०७४ साल असार २२ गते नै पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाण्डाै जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिनुभयो । उज्यालो अनलाइनबाट

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech