कंचनपुर - कंचनपुर स्थित वेदकोट नगरपालिकामा जग्गा नापीको कार्य सुरु भएको छ । वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानीबाट उक्त जग्गा नापीको कार्य पुन सुरु गरिएको छ । शनिवार वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा र उपप्रमुख तुलसी जोशीले उक्त कार्यको संयुक्त रुपमा उद्घाटन गरेका छन ।
स्थानीय तहको निर्वाचनको क्रममा अव्यवस्थित बसोवासी, जग्गाधनी पुर्जा नभएकाहरुको जमिन नापीको कार्य रोकिएको थियो । उक्त नापी कार्यको शनिवारबाट पुन सुरु भएको हो । उक्त कार्यक्रममा बोल्दै वेदकोट नगरपालिकाका नगर प्रमुख बोहराले वर्षात हुनु पुर्व नगरपालिका भित्र नापीको कार्य सम्पन्न गरीसक्ने किसिमले कार्य अगाडि बढाइएको बताएका छन ।
सोही कार्यक्रममा बोल्दै वेदकोट नगरपालिकाका नगर उपप्रमुख जोशीले स्थानीयहरुले विवादरहित हिसाबले सही नापी कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिएकी हुन ।
कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको राष्ट्रिय भुमि आयोग, सेवा केन्द्र वेदकोट नगरपालिकाका संयोजक केशवदत्त भट्टले हालसम्म वेदकोट नगरपालिकामा १२ हजार ३४ हेक्टर जमिन नापी भई सकेको समेत जानकारी गराएका छन । वेदकोट नगरपालिकामा ५ वटा वडाको जमिन नापी भई सकेको संयोजक भट्टले जानकारी दिएका छन।