माया कुमारी सार्की
कंचनपुर ०५ असार - छाडा पशु चौपाया ब्यवस्थापन तथा नियन्त्रण गर्न विभिन्न स्थानका स्थानीय सरकारलाई चुनौती भएको छ । बिशेषगरि खुल्ला सिमानाकामा रहेका जिल्लाहरुमा झन बढी चुनौती भएको छ ।
जथाभावी छोडिने बेवारिसे पशु चौपायाले सडक एवं सार्वजनिक स्थलमा र्पुयाइरहेको अवरोधले हुनसक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा क्षति नियन्त्रण र ब्यवस्थापन गर्नमा स्थानीय सरकारको अहम भुमिका रहेको हुन्छ ।
बेदकोट नगरपालिका भित्र छरिएर रहेका पशु चौपायाहरुको ब्यस्थापन तथा नियन्त्रण गर्न नगरपालिका अघि सरेको छ । शनिबार बेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीद्वारा शुक्लाफाँँटा नगरपालिका वडा नंं. ९ सिसैया स्थित श्री बृन्दाबन सामुदायिक छाडा पशु चौपाया ब्यवस्थापन स्थलको स्थलगत अनुगमन गरिएको छ ।
छाडा पशु चौपाया ब्यवस्थापन तथा नियन्त्रण कंचनपुर जिल्लाकै सबै भन्दा ठुलो समस्याको रुपमा रहेको जिल्लाका बिभिन्न सरोकारवालाहरुले औल्याएका छन् । छाडा चौपाया समस्या समाधानका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनुपर्नेमा बेदकोट नगरपालिकाका अगाडि बढेको छ ।
बेदकोट नगरपालिकाका उपप्रमुख जोशीले बजार क्षेत्रमा ठुलो संख्यामा छाडा पुश चौपाया हुंदा एका तिर सहरको सुन्दरता बिग्रिएको र अर्को तिर दिनहुँ सवारी दुर्घटना तीब्र गतिमा अघि बढिरहेकाले ब्यवस्थापन र नियन्त्रणमा लागिएको बताइन् । साथै त्यसको पीडा जिल्लवासिले समेत भोगिरहेको जोशीको भनाइ छ ।
लामो समय देखि खान नपाएर , पानी पिउन नपाएर , सडक दुर्घटनामा घाईते बनेका, सानो उमेरमै बाटोमा फालिएका, कुकुरले टोकेर रोग लागेका र यस्तै अनेक किसिमले दुर्व्यवहारमा परेका छाडा पशु चौपायाको ब्यवस्थापन र नियन्त्रणमा लागेको भएपनि यो विषय चुनौतिपुर्ण रहेको उनले बताईन ।
कतिपयले कमजोर अवस्थामा रहेका पशु चौपायाहरुलाई सडकमा ल्याएर छोड्ने प्रवृति अत्यधिक बढिरहेको हुँदा कञ्चनपुरमा छाडा पशुचौपायाको समस्या जटिल बन्दै गएको छ।
कैलाली र कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग छेउछाउमा देखिने पशुचौपाया किसानको नियन्त्रणमा नभएर छाडा रहेका हुन्छन् । यसरी छाडा रुपमा छोडिएका पशु चौपायाबाट राजमार्ग छेउमा बसोबास गर्ने किसान लागायत आम स्थानीयवासी समेतले दु:ख भोगिरहेका छन्।
स्थानीय तथा किसानलाई छाडा पशु चौपायाबाट बालीनाली जोगाउनै मुस्किल परेको छ। छाडा पशु चौपायाले बालीनाली खाएर हैरान बनाइरहेका हुन्छन् साथै अहिले तिनीहरुको नियन्त्रण तथा ब्यवस्थापनका लागि नगरपालिकाका उप प्रमुख जोशी सहितको टिमले गरिरहेको कार्य सराहनीय रहेको र हामी नगरवासिहरुले समेत दु:ख नपाउने स्थानियवासीले बताएका छन ।
छाडा पशुचौपाया ठूलो समस्या बन्दै गएपछि नियन्त्रण गर्न कान्जी हाउस निर्माण, सामुदायिक वनभित्र तारजाली निर्माण गरेर ब्यवस्थापन र नियन्त्रणमा राख्ने नगर उपप्रमुख जोशीले जानकारी दिएकी हुन ।