खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि तीन दिने तालिम सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७९-९-१४ गते   ४०५ पटक हेरिएको

नेपालगन्ज १४ पुस -  नेपालगन्जमा सञ्चालित खानेपानी, सरसफाई तथा स्वच्छता (वास) सम्बन्धि तीन दिने तालिम आज सम्पन्न भएको छ । 

युनिसेफको सहयोग, रुकुमेली समाज विकास केन्द्रको प्राविधिक सहयोग एवम् नेपालगन्ज उपमहानगरपालिकाको स्थानीय विपत व्यवस्थापन समितिको आयोजनामा भएको तीन दिने तालिममा विपतको समयमा सुरक्षित खानेपानी, सरसफाई तथा स्वच्छताको महत्वका विषयमा छलफल तथा विमर्श गरेर सहभागीकै बीचमा मन्थन गराई कार्ययोजना समेत ड्राफ्ट गरिएको छ ।   

विपतको समयमा खानेपानी, सरसफाई र स्वच्छतामा क्षमता विकास गर्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो । विपतका समयमा गुणस्तरीय खानेपानी कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा रुकुमेली समाज विकास केन्द्रकी वास परामर्शदाता शोभा राना मगरले तालिममा सहजीकरण गरेकी थिइन् ।

तालिम समापन कार्यक्रममा नेपालगन्ज  उपमहागनरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिमका क्रममा बनाइएको कार्ययोजना ठूलो उपलब्धि भएको बताए । उनले विपतका बेला सबैभन्दा ठूलो चुनौती सरसफाईकै हुने बताउँदै विपतमा गुणस्तरीय खानेपानी तथा सरसफाईमा ध्यान नदिँदा महामारी नै निम्तिन सक्ने जोखिम बढ्ने बताए ।

तालिममा सहभागीका तर्फबाट बोल्दै कार्यपालिका सदस्य बसन्त कनौजियाले तालिम निकै उपलब्धिमूलक भएको भन्दै विपतको समयमा मात्र नभई व्यक्तिगत जीवनमा समेत गुणस्तरीय खानेपानी र सरसफाईको महत्वबारे सैद्धान्तिकसंगै प्रयोगात्मक बोध भएको बताए । युनिसेफका प्रतिनिधि शंकर पौडेलले तालिम फलदायी भएको विश्वास व्यक्त गर्दै सिकेका कुराहरु व्यवहारमा उतार्न आग्रह गरे । 

तालिममा वातावरण इन्जिनियर प्रकाश डिसी, रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र केसी, आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पनि सहजीकरण गरेका थिए । तालिममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न महाशाखा, शाखाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए ।

समापन कार्यक्रममा नेपालगन्ज  उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल, विपत समिति संयोजक समिरप्रताप सिंह लगायत उपस्थित थिए । वासका क्षेत्रमा लामो समयदेखि काम गरिरहेको रुकुमेली समाज विकास केन्द्र पहिलोपटक नेपालगञ्जमा आएर तालिममा प्राविधिक सहयोग गरेको हो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech