प्रधानमन्त्री दाहालले पुस २६ गते बिश्वासको मत लिने

शाख न्यूज    प्रकाशित: २०७९-९-१८ गते   २७३ पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । दाहालले आज सोमवार सङ्घीय संसद्का महासचिवलाई पत्र लेखी २६ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेको जनाइएको छ । विश्वासको मत पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने दाहालले बताउँदै आइरहेका छन् । 

कुनै पनि राजनीतिक दल मिलेर बनेको सरकारका प्रधानमन्त्रीले प्रतिनिधि सभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । सोही अनुसार प्रचण्डले पनि विश्वासको मत लिन लागेका हुन । 

जम्मा २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्रीले १ सय ३८ सांसदको समर्थन जुटाउन पर्ने हुन्छ । 

प्रतिनिधि सभाको पहिलो बैठक यही २५ गते बस्ने पनि जनाइएको छ । यसअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले त्यसको भेलिपल्ट पुस ११ गते शपथ लिएका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech