कोहलपुर नगरपालिकाको १२औं नगरसभा शुक्रबार सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७९-१०-१३ गते   ३०८ पटक हेरिएको

नेपालगन्ज १३ माघ - कोहलपुर नगरपालिकाको १२औं नगरसभाले दुई वटा विधेययकसहित सार्वजनिक महत्वका प्रस्तावहरु स्वीकृत गरेको छ । नगरसभाको शुक्रबार बसेको दोस्रो बैठकमा नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य द्धारा प्रस्तुत प्रस्तावलाई नगरसभाले सर्वसम्मतरुपमा पारित गरेको हो । गएको पुष २९ गते बसेको पहिलो बैठकमा नगर प्रमुख आचार्यले कोहलपुर बाङ्मय प्रतिष्ठान विधेयक २०७९ र कोहलपुर नगरपालिकामा सार्वजनिक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७९ टेवल गरेका थिए ।

यो सँगै उनले बजेट, योजना तथा कार्यक्रम संशोधन, नगरपालिकाको संगठन संरचनामा हेरफेर, लिजाको नतिजा (२०७८/०७९), अर्धवार्षिक प्रगति समिक्षा प्रतिवेदन (२०७८/०७९) लगायतका सार्वजनिक महत्वका बिषयहरु पनि बैठकमा टेवल गरेका थिए । ती विधेयक र सार्वजनिक महत्वको बिषयसँगै शुक्रबार प्रस्ताव गरिएका थप सात वटा सार्वजनिक सरोकारका प्रस्ताव पनि बैठकले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । 

यातायात व्यवस्था कार्यालय बाँकेको ट्रायल सेन्टर कोहलपुरमा भएकाले यातायात कार्यालय पनि कोहलपुरमा स्थापना गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने, कोहलपुर नगरपालिका तथा अखिल नेपाल फुटवल संघ (एन्फा) बीच भएको सहमति अनुसार कोहलपुर नगरपालिकामा फुटवल एकेडेमी तत्काल संचालनका लागि एन्फा लगायतसँग पुनः अनुरोध गर्ने, कोहलपुर नगरपालिकामा वर्सेनी हुने डुवान नियन्त्रणका लागि  डुडुवा खोलामा तटबन्ध गरी डुडुवा करिडोर निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी तथा योजना कार्यान्वयनका लागि प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्ने रहेका छन् ।

यसैगरी नेपाल सरकार शहरी विकास मन्त्रालयबाट संचालन हुने सघन सहरी विकास कार्यक्रममा कोहलपुर नगरपालिकालाई समेत समेटी योजना स्वीकृतका लागि अनुरोध गर्ने र खानेपानी तथा ढल निकास व्यवस्थापनका लागि मन्त्रालयमा पहल गर्ने, कोहलपुर नगरपालिकाका १५ वटै वडामा हालसम्म निर्मित संरचना (घर) को अभिलेखीकरण हुन बाँकी रहेको सन्दर्भमा कार्यपालिकाको निर्णय अनुसार प्रत्येक वडामा त्यस्ता घरहरुको संख्या एकीन गर्न जिम्मा दिईएकोमा जुन वडाको विस्तृत विवरण प्राप्त हुन्छ, त्यति नै संख्याका लागि मात्र अन्तिम पटकको लागि घर नक्सा अभिलेखीकरण सूचना प्रकाशन गर्ने र चालू आर्थिक वर्षको श्रावणदेखि हालसम्म अघिल्लो सभाबाट अधिकार प्राप्त भई कार्यपालिका एवम् आगामी नगर प्रमुखस्तरीय  निर्णयबाट भएका गरेका सम्पूर्ण निर्णय तथा कार्यहरुको अनुमोदन भएमा सो प्रयोग गरी निर्णय एवम् कार्यान्वयन गर्न नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । 

शुक्रबारको बैठकमा बोल्दै नगर प्रमुख आचार्यले कोहलपुर नगरपालिकाले संस्थागत सुधारका काममा प्राथमिकता दिइएको बताए । यस्तै नगर उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले सुरु गरेको नीतिगत सुधार र सुशासनको परिणाम देखिन थालेको बताइन् । बैठकमा नगरपालिकाका प्रवक्ता तथा नगरसभा सदस्य नमबहादुर आले, सदस्यहरु वीरेन्द्रकुमार शाह, लाल बहादुर राना, हरि कठायत, माधव प्रसाद रिजाल, भीम प्रसाद पौडेल र इश्वरी विक लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech