हात्तीपाइले रोग विरुद्धको औषधी फागुन ११ गतेदेखि खुवाउने तयारी

१३ औं चरण अन्तर्गत ६ लाख १६ हजार ६ सय ९५ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य 

शाख न्यूज    प्रकाशित: २०७९-११-३ गते   ४९२ पटक हेरिएको

नेपालगन्ज ३ फागुन - स्वास्थ्य कार्यालय बाँकेले हात्तीपाइले रोग विरुद्ध आम औषधी खुवाउने अभियान - २०७९ सम्बन्धी बुधबार जिल्ला स्तरीय पत्रकारहरु संग नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । हात्तिपाईले रोग विरुद्धको औषधी राष्ट्रिय अभियानका रुपमा यही फागुन ११ गतेदेखि औषधी खुवाउने तयारी भईरहेको छ । 

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले उपस्थित सबैलाई स्वागतका साथै कार्यक्रम सम्बन्धि जानकारी समेत दिएकी हुन । स्वास्थ्य कार्यालय बाँकेले १३ औं चरण अन्तर्गत हात्तिपाईले रोग विरुद्धको औषधी राष्ट्रिय अभियानका रुपमा यही फागुन ११ गतेदेखि औषधी खुवाउने तयारी भईरहेको उनले बताएकी हुन । हात्तीपाइले रोग विरुद्धको अभियानलाई प्रभावकारी गराउन मिडियाकर्मी, जनप्रतिनिधि, राजनीतिक दल तथा बुद्धिजीवि सबै वर्गको भूमिका आवश्यक रहेको भन्दै यो अभियानलाई सफल बनाउन प्रमुख पौडेलले आग्रह गरिन् । बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले औषधि सेवन नै यसको न्यूनीकरण भएको हुँदा पाँच वर्ष लगातार औषधि खुवाएपछि प्रि टाक्स सर्भे गरेर अर्को वर्ष औषधि खुवाएर निवारण गर्ने रणनीति असफल भएपछि १३ औं पटक औषधि खुवाउन लागिएको उनले बताइन् । 

नेपालगन्ज उपमहानगरपालिकामा एक लाख ७० हजार ५ सय ९८ जना, कोहलपुर नगरपालिकामा एक लाख २ हजार ९ सय ४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३ सय ७ जनालाई औषधि खुवाउने लक्ष्य छ । त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार ७ सय ३३, डुडुवा गाउँपालिकामा ४४ हजार १ सय ४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८ सय ७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८ सय ६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३ सय ४१ जना गरि जम्मा ६ लाख १६ हजार ६ सय ९५ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेकी हात्तीपाइले रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् । २ बर्ष देखि ५ बर्ष उमेर समूकाले ,६ देखि १४ बर्ष उमेर समूहकाले र १५ बर्ष देखि माथि उमेर समुहकाले खान हुने र सुत्केरी आमा ,गर्भवती महिला, ७० बर्ष माथिका  मुटु सम्बन्धि रोग लागेकालाई खुवाउन नहुने समेत फोकल पर्सन गौतमले बताएकी हुन । 

बाँकेमा आर्थिक वर्ष २०६७ ०६८ बाट हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको हो । खानेले औषधि खाइरहने र नखानेले औषधि नखाइदिने गरेका कारण बाँकेमा हात्तीपाइले रोग विरुद्धको अभियान प्रभावकारी हुन सकेको छैन । जसले औषधि सेवन गर्दैन त्यसकै कारण औषधि खाने मानिसहरु समेत हात्तीपाइलेको जोखिममा पर्ने गरेका छन् । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech