अनुगमन समितिद्धारा बाँकेका ग्यास उद्योगमा म्याद सकिएका सिलिण्डर फेला

शाख न्यूज    प्रकाशित: २०७९-११-६ गते   ३२८ पटक हेरिएको

नेपालगन्ज -  बाँकेका दुई ठुला ग्यास उद्योगमा ठुलो मात्रामा म्याद सकिएका ग्यास सिलिण्डर  संयुक्त बजार अनुगमन समितिले फेला पारेको छ । अनुगमन समितिले शुक्रबार जिल्लाको मनकामना ग्यास उद्योग र भेरी ग्यास उद्योगमा अनुगमन गरेर प्रयोगमा ल्याउन नसकिने अवस्थाका धेरै संख्यामा ग्यास सिलिण्डर फेला पारेको हो । अनुगमनले बाँकेमा पनि दुर्घटना निम्त्यिाउन सक्ने अवस्थाका धेरै संख्याका ग्यास सिलिण्डर बजारमा छ्याप छ्याप्ती रहेको हुन सक्ने आशंका उत्पन्न गरेको छ । 

समितिले मनकामना ग्यास उद्योगबाट म्याद समाप्त भएका, लिकेज, बिग्रेका, कुच्चिएका, जोखिमयुक्त रहेका र तत्काल म्याद सकिन लागेका ग्यास सिलिण्डर फेला परेको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज सूचना अधिकृत देवीलाल चौलागाईले जानकारी दिए ।  मनकामना ग्यास उद्योगमा म्याद समाप्त भएका १ सय ६० ग्यास सिलिन्डर, लिकेज, बिग्रेका, कुच्चिएका, जोखिमयुक्त ५० र तत्काल म्याद सकिन लागेका करिब ५० वटा ग्यास सिलिन्डर गरि जम्मा २ सय १० ग्यास सिलिन्डरलाई बिक्री वितरण नगर्न अनुगमन समितिले निर्देशन दिएको छ ।  साथै मनकामनामा लिकेज जाँच गर्ने मेसिनको प्रयोग नै नगरी ग्यास सिलिण्डर बजारमा पठाउने गरेकोले ग्यास लिकेज टेष्टिङ्ग मेशिनलाई यथाशीघ्र प्रयोगमा ल्याउन समेत निर्देशन दिएको छ ।

यस्तै भेरी ग्यास उद्योगमा रहेका म्याद सकिएका करिब ३ हजार ग्यास सिलिन्डर, लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब २ हजार ५ सय वटा ग्यास सिलिन्डर र म्याद सकिन लागेका २ सय वटा ग्यास सिलिन्डरलाई बिक्री वितरण नगर्न निर्देशन दिएको अनुगमनमा सहभागी उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकृत चौलागाईले जानकारी दिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech