नेपालगन्ज १५ फागुन - चीनका प्रसिद्ध वुद्धिष्ट लामा (गुरु) मास्टर मिचु छेइङयुको टोलीले सोमवार नेपालगन्जका वरिष्ठ कलाकार श्यामानन्द सिंहको कला संग्रहालयको अवलोकन गरेको छ । सो टोली नेपाल चिन पारस्परिक सहयोग समाजको निम्तोमा शनिबार नेपालगन्ज आएको थियो ।
बुद्ध धर्मलाई कलाको माध्यमबाट प्रस्तुत गर्दै आएका छेइङयुसँगै अनुयायी मिस वाङ्ग तथा मि. हाईहुङ्ग समेतले सिंह निवासमा अवस्थित संग्रहालयको अवलोकन गरेको हो । अमेरिका, युरोप, भारत लगायतका देशहरुमा बुद्ध धर्मको बारेमा प्रवचन दिइसकेका छेइङयूसहितको टोलीलाई कलाकार सिंहले माला र खादाले स्वागत गरेका थिए । टोलीले कलाकार सिंहद्वारा सिर्जित हस्तकला, चित्रकला, मूर्तिकलाका विभिन्न सिर्जनाहरुको रुचीपूर्वक अवलोकन गर्नुका साथै उच्च प्रशंसा गरेको थियो ।
यसअघि सो टोलीले बागेश्वरी मन्दिरस्थित हर्ष कृति महाविहार, न्यूरोडस्थित बौद्ध गुम्वा, कोहलपुर पिपरीको शान्ति तपोभूमी बौद्ध विहार आदिको अवलोकन गरेको थियो । टोलीमा नेपाल चीन पारस्परिक सहयोग समाजका कोषाध्यक्ष टोप बहादुर थापा, सदस्य एवं कलाकार सुन्दर गुरुङ, ईश्वर श्रेष्ठ, रामचन्द्र तिवारी, तामाङ धेदुङ बाँके अध्यक्ष सरोज तामाङ, पूर्व अध्यक्ष माइली लामा रहेका थिए ।