बर्दिया ट्राफिक प्रहरीले चेकजाँचका नाममा रकम असुली गर्दै

११ वटा चेकपोष्टबाट मासिक ६ लाख असुली, रत्नराजमार्गको बबई प्रमुख असुली केन्द्र

शाख न्यूज    प्रकाशित: २०७९-१२-२८ गते   ११५६ पटक हेरिएको

बर्दिया  २८ चैत - बर्दिया ट्राफिक प्रहरीले जिल्लाका ११ वटा चेकपोष्टबाट दैनिक असुली गर्दै आएको खुलेको छ । बर्दियामा रहेका ११ वटा ट्राफिक चेकपोष्टमा चेकजाँचका नाममा रकम असुली तीब्र पारेको खुलेको हो । ११ वटा चेकपोष्टमध्ये बबई चेकपोष्ट असुलीको मुख्य सेन्टर मानिएको देखिएको छ । स्रोतका अनुसार यहाँका पोष्टबाट मात्रै ट्राफिकको जिल्लामा मासिक ६ लाख बुझाउने प्रावधान रहेको छ । उक्त रकम राजश्व तथा अन्यत्र कतै प्रयोग र जम्मा हुदैन । जिल्लादेखि प्रदेश र केन्द्रसम्म चटनीका रुपमा बाँडफाँड हुदै आएको ट्राफिक निकट स्रोत नै बताउँछ ।

बबई, बासगढी, भुरिगाउँ, राजापुर, गुलरिया, मैनापोखर, मानखोला आसपास, सानोश्री ताराताल क्षेत्र, मधुवन लगायतका सबै ठाउँबाट जिल्ला ट्राफिकले तोकेको रकम मासिक बुझाउनुपर्ने नत्र हवल्दारको कमाण्डमा रहेको ट्राफिक फेरबदल टीमले आन्तरिक सरुवा समेत गरी असुलीमा दक्ष व्यक्तिलाई पोष्टमा पठाउने गरेको पनि खुलेको छ ।

असुलीका दक्ष भएकै कारण जिल्ला ट्राफिक हाकिमले केही जवानदेखि हवल्दारसम्मका व्यक्तिलाई बषौंसम्म पनि सरुवा गर्न सकेका छैनन । एउटै व्यक्ति लामो समय एकै ठाउँमा हुँदा असुलीको लाइनमा सहज हुने भएकाले त्यसता व्यक्तिको सरुवामा कसैको ध्यान जान नसकेको बुझिएको छ ।

मुख्य बजार क्षेत्रमा जथाभावी पार्किङ र फुटपाथ व्यापारीले कब्जा गदाृ पनि यसको व्यवस्थापनमा चासो नदेखाएर ट्राफिकले असुलीलाई तीब्र पारेको गुलरियाका स्थानीय नै बताउँछन । लाग्छ बर्दियामा ट्राफिक असुलीका लागि मात्रै राखिएको छ । शहरमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको जिम्मेवारी लिएको बर्दिया ट्राफिकले यतिबेला सुरक्षाजाँचका नाममा कमाउधन्दा तीब्र पारेको देखिएको छ ।

बर्दियामा निर्माण सामग्री ढुवानी गर्ने टिप्परसँग पनि यसरी ट्राफिक प्रहरीले असुली गर्दै आएको टिप्पर व्यवसायी नै बताउँछन । इश्वरी देवकोटाले कमाण्ड सम्हालेपछि ट्राफिक अस्तव्यस्तमा सुधार आउने अपेक्षा गरिएपनि विगतको तुलनामा केही फरक हुन नसकेको गुलरियाका स्थानीय एबिसी चौधरी बताउँछन । महेन्द्र राजमार्गको मानखोला कर्णाली र रत्न राजमार्गको बबई क्षेत्र बर्दिया ट्राफिकको बिशेष असुली केन्द्र रहेको सवारी चालकको गुनासो छ । रकम नदिने विभिन्न बहाना बनाएर ट्राफिकले टिप्पर रोक्ने र चालक तथा टिप्पर मालिकलाई सास्ती दिने गरेको छ । ट्राफिक प्रहरीले गुलरिया –राजापुर सडकखण्डमा पैसा असुली गर्ने क्रियाकलापले गर्दा हैरानी खेप्नु परेको चालकहरु बताउँछन् ।

ट्राफिक प्रहरीको प्रभावकारी काम नहुँदा पनि गुलरिया सहतिका उदाउदा शहर बासगढी, भुरिगाउँ राजापुर मधुवन, बढैयातालमा ट्राफिक व्यवस्थापन समेत भद्रगोल हुने गरेको छ ।बर्दिया ट्राफिक प्रहरीले मालबाहक ट्रक तथा ट्याक्टरहरुलाई विभिन्न बाहनामा दुःख दिनेदेखि रकम असुल्ने गरेको गुनासो आउने गरेको
छ ।

प्रहरीले विभिन्न कारण देखाउँदै फाइनका नाममा रकम असुल्ने गरेको गुनासो आउने विषय नौलो होइन । विभिन्न बाहनामा रकम असुल्नेदेखि दुःख दिने गरेको सवारी चालकहरु बताउँछन् । स्रोतकाअनुसार चालकले आफ्नो बिलबुकमा हालेर ट्राफिकलाई पैसा दिने गरेका छन् । यस बिषयमा बर्दिया ट्राफिक प्रमुख देवकोटासँग बुझन खोज्दा उनको फोन सम्पर्क हुन सकेन । जिल्ला ट्राफिक कार्यालय बर्दियाका एक अधिकारीले भने असुली नभएको प्रतिक्रिया दिएका छन । (साभारः ई - सेतोखरी डटकमबाट)

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech