डुडुवालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

शाख न्यूज    प्रकाशित: २०८२-१-११ गते   १८३ पटक हेरिएको

बाँके १२ बैशाख - डुडुवा गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाका सबै बालबालिकाले पुर्ण खोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो ।

शुक्रबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकालाई पुर्ण खोप घोषणा गर्दै बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने भन्दै स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न निर्देशन दिए ।

पालिकाले स्वास्थ्यको क्षेत्रमा काम गरिरहेकाले स्वास्थ्य सेवाको गुणस्तरियता तथा प्रभावकारीतालाई विशेष ध्यान दिएको हुँदा ज्येष्ठ नागरिकका लागि विशेष उपचार सेवाको तयारी भएको जानकारी अध्यक्ष चौधरीले दिए ।

गाउँपालिका अन्तर्गत जन्मेदेखि १५ महिनाका एक हजार दुई सय ६ जना बालबालिकाले नियमित रुपमा पुर्ण खोप लगाएपछि सतप्रतिशत पुर्ण खोप सुनिश्चितता भएको स्वास्थ्य शाखा प्रमुख हेमन्त किशोर शर्माले बताए । 

पुर्ण खोप सुनिश्चिताका लागि गरिएको घरधुरी सर्भेक्षणमा १६ महिनादेखि २३ महिनाका तीन हजार २ सय १५ जनाले समेत सबै खोप लगाएको पाईएको स्वास्थ्य शाखा प्रमुख शर्माले बताएका छन्।

जिल्ला खोप समन्वय समितिद्वारा डुडुवालाई पुर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरेको थियो भने पालिकाको ६ वटै स्वास्थ्य चौकीलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो । 

वार्षिक रुपमा पालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्र्तगत यसवर्ष पनि घोषणा गरिएको हो । घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख जनकराज गिरी, वडाध्यक्षहरु दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेय, स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय, लगायतको सहभागिता रहेको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech