दलहरुबीच देखिएको नीतिगत अस्पष्टता र द्विविधाको अन्त्य नगर्दासम्म अपेक्षित परिणाम दिन सकिएको छैन - मन्त्री पौडेल

शाख न्यूज    प्रकाशित: २०८२-१-२० गते   २१८ पटक हेरिएको

बाँके - नेपाल प्रेस युनियन बाँकेद्वारा आइतबार  नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा पत्रकार सम्मेलनमा दलहरुबीच देखिएको नीतिगत अस्पष्टता र द्विविधाको अन्त्य नगर्दासम्म अपेक्षित परिणाम दिन नसकिने कांग्रेस केन्द्रिय सदस्य समेत रहेका मन्त्री प्रदीप  पौडेलले बताएका छन् ।

 संघियता आवश्यक भए पनि नेपालमा बोझिलो र खर्चिलो देखिएको टिप्पणी गर्दै उनले खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउनुपर्नेमा जोड दिए । मन्त्री पौडेलले स्वास्थ्य सेवालाई गुणस्तरीय र डिजिटलाइज बनाउन जरुरी देखिएको भन्दै एक अस्पताललाई अर्को अस्पतालसंग जोडेर नागरिकमैत्री सेवा विकासमा मन्त्रालयको ध्यान गएको समेत बताए ।

उनले बीमालाई सर्वसुलभ गराउन बिमितहरुले बीमा गरेको महिना दिनबाटै सेवा पाउने बताए । यसअघि बीमा गरेको तीन महिनापछि मात्रै बिमितले सेवा लिन पाउने प्रावधान रहेको थियो । उनले स्वास्थ्य जनशक्तिको व्यवस्थापन र गुणस्तरीय सेवा, सातै प्रदेशमा सघन जलन उपचार सेवा, मुटु रोग विस्तार लगायतलाई सरकारले प्राथमिकता दिएको पनि उल्लेख गरे ।

मन्त्री पौडेलले योगदान गर्न सक्ने नागरिकलाई वीमाको दायित्वमा जोडेर वीमा प्रणालीलाई व्यवस्थित गर्नुपर्ने प्रस्ताव मन्त्रालयको रहेको जानकारी समेत दिए । मन्त्री पौडेलले यो आर्थिक वर्षभित्र वीमाको सम्पूर्ण दायित्व फरफारक गर्ने योजनामा रहेको पनि बताए । उनले अहिलेकै मोडेलमा स्वास्थ्य वीमा कार्यक्रमलाई निरन्तरता दिए थेग्न नसकिने स्पष्ट पारे । 

उनले भेरी अस्पताललाई थप व्यवस्थित र सुदृढ बनाउन मन्त्रालय लागिपर्ने बताए । उनले बजेटको सिमितताका कारण चाहे जति काम गर्न सक्ने अवस्था नरहे पनि भेरी अस्पताल संघीय सरकारको प्राथमिकतामा रहेको बताए । मन्त्री पौडेलले भेरीमा पछिल्लो समय थपिएका विशिष्टिकृत सेवालाई अझ प्रभावकारी बनाउन दरबन्दी सिर्जना गरिने समेत जानकारी दिए । 

कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा गम्भीर रोगको उपचारसमेत बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गर्ने गरी उल्लेख गरिएको बताए । उनले बीमा प्रणालीलाई व्ययभार न्यून गर्न सरकारद्धारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधिहरु बीमा प्रणालीमा जोडिने पनि मन्त्री पौडेलले बताए ।

उनले सरकारी अस्पतालमा चिकित्सक र नर्सिङ जनशक्तिको अभाव रहेको भन्दै त्यसलाई लोक सेवा आयोगमार्फत समाधान गर्ने गरी सरकार अघि बढेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले स्वास्थ्य वीमालाई नागरिकको योगदानमा आधारित हुने गरी व्यवस्थित गर्नुपर्ने बताएका छन् । अस्पतालमा आवश्यकताका आधारमा जनशक्ती परिचालन गर्न संघीय सरकार मातहतका सबै अस्पतालमा ओएनएम गरिने उनको भनाइ छ ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका सभापति नारायण प्रसाद गौडेल, लुम्विनी प्रदेश सभा सदस्य बादशाह कुर्मी, नेपाल प्रेस युनियन लुम्विनी प्रदेशका महासचिव समेत रहेका पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह, अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण नेपाल प्रेस युनियन बाँके सचिव भिष्म लोधले गरेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech