बालबालिकाहरूको लागि दुई दिने तालिम सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८२-१-२६ गते   २०७ पटक हेरिएको

बाँके - बालमैत्री स्थानीय शासन प्रवर्द्धन गरौं भन्ने मूल अभिप्रायका साथ बाल क्लबका बालबालिकाहरूको लागि बाल अधिकार, नेतृत्व विकास तथा मानसिक स्वास्थ्य सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।

शनिबार सम्पन्न तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायाले सबै वडाका बालबालिकाको सहभागितामा भएको तालिमले बाल क्लबको सशक्तिकरणमा टेवा पुर्याउने विश्वास ब्यक्त गरिन् । अहिलेको समय डिजिटल समय भएकाले प्रविधिको सही रुपमा प्रयोग गरी लाभ लिन उनले सहभागी बालबालिकाहरुलाई सजग हुनका साथै आगामी दिनमा समेत गाउँपालिकाले बाल क्लबको सशक्तिकरणमा थप कार्य गर्ने प्रतिबद्धता उपाध्यक्ष रोकायाले ब्यक्त गरिन् । 

यसैगरी कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका सामाजिक विकास समिति सदस्य तथा वडा नम्बर ८ का सदस्य धिरेन्द्र सिंह ठकुरीले सहभागीलाई तालिमबाट सिकेको कुरा वडामा गई कार्यान्वयनमा ल्याउन अनुरोध गरे । 

यसैगरी गाउँ कार्यपालिका सदस्य कृष्णा सुनारले पहिलोपटक ८ ओटै वडाका बालबालिकाहरुको सहभागितामा तालिम गर्न सफल भएकोमा खुसी लागेको बताइन् ।

बैजनाथ गाउँपालिकाका सबै वडाका बालबालिकाहरुको सहभागिता रहेको तालिममा बाल अधिकार, नेतृत्व विकास तथा मानसिक स्वास्थ्यका विभिन्न बिषयमा इरा रिसर्च एण्ड डेभलपमेन्टका रिसोर्स समन्वयकर्ता ध्रुव जंग शाह र बासका निर्देशक हेमराज भट्टले प्रशिक्षण दिएका थिए । तालिमबाट गाउँपालिकाको आठ ओटै वडाको छुट्टाछुट्टै कार्ययोजना तयार गरिएको छ ।

बैजनाथ गाउँपालिकाको सहयोग तथा इरा रिसर्च एण्ड डेभलपमेन्ट प्रालिको आयोजनामा भएको तालिममा धन्यबाद ज्ञापनसहित कार्यक्रमको समापन इरा रिसर्च एण्ड डेभलपमेन्टका कार्यक्रम संयोजक दिपिका रोकायाले गरेकी थिइन् । 

तालिममा ४० जना बालबालिकाहरुको सहभागिता रहेको थियो । पहिलोपटक यस्तो तालिममा सहभागी भएको र तालिमबाट बाल अधिकार, नेतृत्व विकास र मानसिक स्वास्थ्यका बिषयमा जानकारी हासिल भएको सहभागीहरुले प्रतिक्रिया दिएका थिए । तालिममा वडा नम्बर ६ का अध्यक्ष देब बहादुर रावत लगायतको उपस्थिति रहेको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech