एम्स प्रेसिडेन्ट पाको नेपालगन्ज आउँदै

शाख न्यूज    प्रकाशित: २०८२-२-२ गते   ५६९ पटक हेरिएको

 बाँके - म्याराथन तथा रोडरेसको विश्वव्यापी सञ्जाल एसोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) का अध्यक्ष पाको बोराओले नेपालगन्ज भ्रमण तालिका तय गरेका छन् । स्पेन निवासी पाको विश्व प्रसिद्ध भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । एम्समा १ सय २० देशका ४ सय ५० बढी म्याराथन आबद्ध छन् । एम्सको बोर्ड बैठक र नेपाल इन्टरनेशनल रनिङ कन्फ्रेन्सका क्रममा यही जेठ १९ गते काठमाडौं उत्रन लागेका अध्यक्ष पाकोले नेपालगन्ज भ्रमण गर्ने तालिका सुनिश्चित भएको नेपालका लागि एम्स दुत एवं धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए ।
नेपालगन्ज म्याराथन नेपालबाट एम्सको पहिलो पूर्णकालीन सदस्य हो ।

पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जमा १० बर्षदेखि नियमित आयोजना हुँदै आएको म्याराथनको रुट हेर्ने र स्थानीय अगुवासँग पाकोको अन्तरक्रिया गराउने तयारी गरिएको छ । यसका लागि निवर्तमान उपमेयर उमा थापालाई संयोजक र प्याब्सन जिल्ला अध्यक्ष विकास बज्राचार्यलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । संसारमा निकै लोकप्रिय मानिएको म्याराथन विधाको सर्वोच्च निकायको प्रमुख नेपालगञ्ज आउनु खुशीको खबर रहेको लुम्बिनी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव भिम ओलीले बताए ।

अध्यक्ष पाकोको भ्रमण फलदायी गराउने सवालमा शनिबार नेपालगञ्जमा नागरिक स्तरबाट छलफल चलाइएको छ । नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलले बाँके राष्ट्रिय निकुञ्ज भ्रमणदेखि मानसरोवर माउन्टेन फ्लाइट गराउने र स्थानीय कला, संस्कृति देखाउन नाट्टाले सघाउने प्रतिबद्धता जनाए । त्यसैगरी प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले विद्यार्थीका लागि हाइप्रोफाइल व्यक्तित्वसँग अन्तरक्रिया गराउन ठूलो अवसर भएको बताउँदै नेपालगन्ज म्याराथनको अभियानमा साथसाथै अघि बढिरहने वाचा गरे । 

सुटिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवं प्रेस युनियनका पूर्व अध्यक्ष नरेन्द्र थापाले खेलाडीको सहरलाई एम्ससँग जोड्न पाउनु गौरवको बिषय भएको बताए । नेपालगन्जका उद्योगी सञ्जय अग्रवालले खेलकुदसँग उद्योगी व्यवसायीलाई जोड्दै जानुपर्नेमा जोड दिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech